आफूलाई सांसद मनोनीत नगरे ओलीलाई नै पदच्युत गर्नसक्ने वामदेवको चे’तावनी

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पटकपटक धोका दिएको भन्दै आफूलाई सांसद मनोनीत नगरे प्रधानमन्त्री ओलीलाई नै प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाटै च्युत गर्नसक्ने चेता’वनी दिएको खबर सार्वजनिक भएको छ ।

‘मलाई पटक पटक धोका भएको छ,’ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष गौतमले आफूलाई भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरुलाई सिधै भने । उनले आफू अब धोका नखाने गरी अगाडि बढिसकेको भन्दै पछाडि नफर्कने स्पष्ट पारे ।

सोमबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भैंसेपाटीस्थित गौतमकै निवास पुगेका थिए । उनीहरुले गौतमलाई सहमतिको बिन्दु खोज्नेबारे छलफल गरे । गौतमले भने आफूमाथि भएको धोकाधडीको फेहरिस्ता बताउन थाले । विश्वस्त स्रोतका अनुसार गौतमले बर्दियामा आफूमाथि भएको अन्र्तघातको विषय देखि पछिल्लो समयबारे सुनाउँदै धोका भएको सुनाएका थिए ।

तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा आफूले ओलीलाई सघाएको स्मरण गराए । ओलीलाई गौतमले साथ दिएकैले जित सहज भएको थियो । उक्त महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई झीनो मतान्तरले पराजित गरेका थिए । त्यसपछि ओली शक्तिशाली बनेका थिए ।

गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने पार्टी सचिवालयले निर्णय गरिसकेको भन्दै नयाँ कोर्समा अवस्था गइसकेको सुनाए । उनलाई भेट्न पुगेका नेताहरु पोखरेल र ढकालले सहमतिको विकल्प नभएको भन्दै मिलेर अगाडि बढ्न माहोल तयारका लागि आफूहरु लाग्ने बताएका थिए ।

यसअघि महासचिव विष्णु पौडेलले पनि गौतमलाई भेटेर मिलनबिन्दु पहिल्याउने कोशिश गरेका थिए । तर, बिन्दु अझै बन्न सकेको छैन । गौतम सचिवालयको निर्णय नमाने नयाँ तरिकाले बढ्ने तयारीमा छन् भने प्रधानमन्त्री ओली सचिवालयको निर्णय मान्न तयार छैनन् । तत्कालको संकट ओलीको अस्पताल भर्नाले ओझेलमा परेपनि नयाँ ढंगले उठ्ने देखिदै गएको छ । यसबीच नेताहरु कुरा मिलाउन सक्रिय भएपनि सफल भइसकेका छैनन् ।

ओली पक्षका नेताहरुबाट गौतमलाई राष्ट्रियसभामा नलाने अभिप्रायका अभिव्यक्ति आइरहेका छन् । उपप्रधानमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रक्रियागत तरिकाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेर प्रधानमन्त्री बन्न गौतमलाई चुनौती दिइसकेका छन् । ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले पनि पार्टीले सरकारको काममा निर्देशन दिन नमिल्ने भन्दै गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न नेकपा सचिवालयले गरेको निर्णय मान्नुनपर्ने जिकिर गर्दै आएका छन् ।