
काठमाडौं। नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारको ‘राज्य आतंक र हत्या’को बदला लिने बताएको छ।
विप्लव समूहका सर्लाही इन्चार्ज र जनकपुर ब्यूरो सदस्य कुमार पौडेल बिहीबार प्रहरी इन्काउन्टरमा मारिएपछि एक विज्ञप्ति जारी गर्दै पौडेलको गैरन्यायिक हत्या भएको उल्लेख गर्दै बदला लिने चेतावनी दिएको हो ।
पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेललाई विप्लव समूहले सहिद घोषणा समेत गरेको छ । उक्त हत्या कायरतापूर्वक गरिएको विप्लव समूहको ठहर छ ।
पौडेललाई दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । नेकपाले पौडेलको हत्या गैरन्यायिक भन्दै विरोध र भत्र्सना समेत गरेको छ ।
प्रहरीले भने दोहोरो हानाहानका क्रममा उनको मृत्यु भएको दाबी गरेको छ । प्रदेश दुई प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको जानकारी दिए । उनले उनीसँगै रहेका अन्य तीनजना भने भागेको जानकारी दिए ।