
पाँचथर। जिल्लामा भएको सुजाता तामाङको हत्या आरोपित पक्राउ परेका छन् । मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षीय घनेन्द्र लावतीलाई बिहीबार पक्राउ गरेको छ । प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको छ।
हिलिहाङ–६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
प्रहरीले लावतीलाई हिलिहाङ–५ स्थित गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार राति ८ बजे पक्राउ गरेको छ । लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी कुँवरले बताए । घटनाको थप अनुसन्धान भइरहेको छ।