यिनै हुन् सुजाताको हत्या गर्ने हत्यारा, लुटेको रकम र खुकुरीसहित पक्राउ (फोटो सहित)

फिदिम। पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीबार अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो ।

लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए । रासस