
चार वर्ष पहिले छोरो परदेश जाँदैगर्दा लिलासरा परियारले सोचेकी थिइन्– ‘श्रीमानले नहेरेर के भो र, अब मलाई छोराले हेर्छ।’
छोरा निरजले पनि आमाको मन फुल्याउँदै भनेका थिए– ‘पीर नगरी बस्नु आमा, कमाएर तिमीलाई सुखले पाल्छु।’
लिलासरा नवलपरासी रामनगरमा छोरीसँग बसिन्, निरज परदेशी बने।
औसत परदेशीको सपना थियो निरजको पनि। बस्ने घर थिएन, गरी खाने जमिन पनि थिएन। ती सबै अभावको पूर्ति उनले गर्नुपर्ने।
निरज परदेशिएको चार वर्ष लाग्दा जग्गा जोडियो, एकतले घर ठडियो। त्यत्तिमै सपना टुङ्गेन।
अझै जग्गा थप्ने, घरको तला थप्ने अनि बिहे गर्ने। आउँदो दसैंमा घर फर्किने र बिहे गर्ने सल्लाह भइसकेको पनि थियो।
गएको चैत १८ गते लिलासराको सपनामा चट्याङ पर्यो। निरज जिउँदै फर्केनन्, उनको शव बाकसमा आइपुग्यो। युएईको अबुधाबीमा फार्मेसीमा काम गर्ने निरज ड्युटीबाट कोठा फर्किंदै गर्दा दुर्घटनामा परे। उनी चढेको ट्याक्सीलाई पछाडिबाट अर्को गाडीले ठक्कर दियो। निरजको घटनास्थलमै र अन्य तीनजनाको उपचारकै क्रममा ज्यान गयो। त्यो ट्याक्सीमा चढेका कोही पनि बाँचेनन्।
यही खबर लिलासरासम्म आइपुग्यो। लिलासराको सहारा भन्नु नै तिनै एक्ला छोरा थिए। उनी पनि बितेपछि सहराबिहीन भइन् लिलासरा। श्रीमानसँग सम्बन्ध राम्रो छैन। सौता ल्याएपछि लिलासरालाई राम्रो गरेनन्। ‘राम्रो गर्ने भए म हुँदाहुँदै किन सौता हाल्थे,’ उनले भनिन्।
एक्लो छोरै बितेपछि भिन्दाभिन्दै बस्न थालेका पति–पत्नीलाई गाउँलेले एकपटक त मिलाएर राख्ने कोशिश गरे तर त्यो सफल भएन। पति कान्छीपट्टिका सन्तान लिएर डेरामा छुट्टै बस्न थाले।
त्यसपछि लिलासराले नै घर खालि गरिदिइन्। ‘सौता ल्याउँदा पनि म मिल्न गएकै हुँ, तर मलाई सहेनन्। मेरा कारण घर छाडेपछि माइत गएर बसेँ,’ उनी भन्छिन्।
लिलासराकी जेठो सन्तान छोरी छिन्। त्यसपछि जन्मेको छोराको सानैमा मृत्यु भयो। निरज जन्मेको वर्ष दिन नपुग्दै पतिले अर्की ल्याए। निरजको जन्मसँगै भाँडिएको थियो यो परिवार। अर्की विवाह गरेपछि श्रीमान पनि विदेशिए।
‘अरूको त टाढा भएपछि माया बढ्छ भन्छन्, हाम्रो त त्यस्तो भएन’, लिलासरा ती दिन सम्झिन्छिन्, ‘विदेश गएपछि मेरो नामको सिन्दुर, चुरापोते केही पनि नलगा भनेर पत्र लेखेका थिए।’
वियोगमा पनि मिलेन साथ
छोराको शव लिएर पति छविलाल घरै आएका थिए। सँगै किरिया बसे पनि लिलासरासँग कुराकानी भएन। किरिया सकेर छविलाल फर्किए, बेसहारा भएकी लिलासरासँग अब भने न आस रह्यो न त कसैको साथ।
आफ्नो बाँकी जीवनभन्दा पनि उनलाई छोराका सपनाले सताइरहन्छ। ‘उसका धेरै सपना थिए, बुबाले नहेरेर के भो र, आमा म तिमिलाई सुखले पाल्छु भनेको थियो…’ यति भनिनसक्दै लिलासरा सम्हालिन सकिनन्।
नेपाली युवाको दुःखान्त
निरजजस्तै कमाउन परदेशिएका कयौं बाकसमा भित्रिन्छन्। वैदेशिक रोजगारीमा गएका मध्ये गत महिनामात्रै ५० जनाले परदेशमै प्राण त्यागे। निरजले ज्यान गुमाएको युएईमै गत जेठमा पनि ११ जनाको ज्यान गयो।
कतारमा १८ तथा मलेसिया र साउदीमा ९÷९ जना बिते। अन्यको कुबेत र साइप्रसमा ज्यान गयो।
यति हुँदाहुँदै पनि दिनहुँ वैदेशिक रोजगारीमा जानेको लर्को उस्तै छ। जेठमा मात्रै ४३ हजार ६ सय ५४ जनाले रोजगारीका लागि देश छाडे। तीमध्ये ४ हजार ७ सय ८६ जना म्यानपावर कम्पनीबाट युएई उडे। अरू व्यक्तिगत तरिकाले गएका छन्।
तर, परदेशमा सबैका सपना पूरा भएका छैनन्। धेरैका सपना त्यहाँका सडकमा ढलेका छन्, निरजका जस्तै।