रेशम चौधरीलाई १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै बाबुरामको आक्रोश

काठमाडौं। समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै विरोध गरेका छन् ।

चौधरीलाई नेलनै लगाइएको अवस्थामा अस्पतालमा भेटेको फोटो सार्वजनिक गर्दै भट्टराईले ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’ भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचार निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । तर दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर राखिएको बताइएको छ।