‘मधेशमा पुनः ठूलो आन्दोलन हुन्छ’ : अध्यक्ष यादव

जलेश्वर। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ। युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताउनुभयो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “ आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ।”

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पार्नुभयो । उहाँले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गर्नुभयो ।