अमेरिकाको न्युयोर्कमा कोरोनाको सङ्क्रमण ‘बुलेट ट्रेन’ को गतिमा

काठमाडौं। अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको पाइएको छ।

त्यहाँका गभर्नर एन्ड्रयु कोमोले कोरोना भाइरस ‘बुलेट ट्रेन’भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधि उपचारका सामग्रीको आपूर्तिका लागि अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

मङ्गलबार पत्रकारसँग उहाँले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताउनुभयो । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको र चार सय भेन्टिलेटर पठाएकोप्रति पनि उहाँले आलोचना गर्नुभयो ।

न्युयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ सात हजार मात्र भेन्टिलेटर छन् । न्युयोर्कमा अहिलेसम्म२५ हजार जनालाई सङ्क्रमण भइसकेको छ भने २ सय १० जनाको ज्यान गइसकेको छ ।

यस्तै अमेरिकाभरि अहिलेसम्म ५ सय ८२ जनाको ज्यान गएको छ भने ४६ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी युरोप र अमेरिकामा धेरै फैलिरहेको छ ।