पशुपतिनाथ दर्शनको सबै खर्च व्यहोर्ने राजस्थान सरकारको निर्णय

नयाँदिल्ली। भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने भएको छ । राजस्थान सरकारअन्तर्गत पर्यटन तथा तथा देवस्थान मन्त्रालयले ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो ।

सरकारले बिहीबार मात्र ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन तथा देवस्थानमन्त्री विशवेन्द्र सिंहले कान्तिपुरलाई बताए । ‘हिन्दुहरूको महान् तीर्थस्थलमध्येको एक पशुपतिनाथ भएकाले यो निर्णय गरिएको हो,’ उनले भने ।

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ । उक्त सूचीमा भारत बाहिरको पहिलो गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो ।

पछिल्लो निर्णयअनुसार अब काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाई भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्नेछ । यसअघि भारतभित्रैका ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो ।

हवाईमार्ग हुँदै काठमाडौं जाँदा र त्यहाँ बस्दा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने मन्त्री सिंहले जानकारी दिए । ‘यो सुविधा सर्वसाधारणसँगै सेवानिवृत्त सैनिक, कर्मचारी र प्रहरीले समेत पाउनेछन्,’ उनले भने, ‘आफ्नो खर्चमा तीर्थ जान नसक्नेका लागि यो योजना हो ।’ पछिल्लो निर्णयसँगै अशोक गहलोत नेतृत्वको राजस्थान सरकारको खर्चमा सेवानिवृत्त कर्मचारी, ज्येष्ठ नागरिकहरू हवाईमार्गबाट विभिन्न नौवटा र रेलबाट विभिन्न आठवटा तीर्थस्थल भ्रमण गर्ने पाउने भएका छन् । यसअघि हवाईमार्ग र रेलमार्गबाट ६/६ वटा तीर्थस्थलका लागि त्यस्तो सुविधा उपलब्ध थियो । वार्षिक दस हजार ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने उद्देश्यसहित यो व्यवस्था गरिएको बताइएको छ । जसमध्ये पाँच हजारले हवाईमार्ग र पाँच हजारले रेलबाट यात्रा गर्नेछन् । त्यसैगरी राज्य सरकारले यस वर्षदेखि ज्येष्ठ नागरिकको उमेर सीमा पनि घटाएको छ । यसअघिको ७० वर्षलाई घटाएर ६५ वर्षमा झारिएको छ । तीर्थाटनमा जान इच्छुक हुनेले आगामी ५ जुलाईभित्र आवेदन दिनुपर्नेछ ।

अन्य गन्तव्यको तुलनामा पशुपतिका लागि सबैभन्दा बढी सोधपुछ गरिएको मन्त्री सिंहले जानकारी दिए । ‘पशुपतिनाथको ठूलो नाम भएर होला, त्यहाँ जानका लागि सबभन्दा बढी चासो देखिएको छ,’ मन्त्री सिंहले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको भ्रमण गरेकाले भारतीय हिन्दु धर्मावलम्बीमा यी तीन ठाउँमा तीर्थ गर्न आकर्षण बढेको छ । (कान्तिपुर)