कतार एयरवेजबाट आएका थप ५ जना क्वारेन्टाइनमा राखियो

महोत्तरी । गत शुक्रबार (चैत–७ ) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका ५ जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव्र रुपमा थालिएको हो ।

यसैबीच बाहिरबाट घर फर्केकालाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शैय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ । जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन् । यसअघि भारतको कोलकाताबाट फर्केका पाँचजना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन् । त्यसै गरी बजार पनि बन्द गरिएका छन् । सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ । यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।