अरुभन्दा विशेष देखिन इँटामाथि राखिएको रातो कपडामा उभिए सांसद

काठमाडौं। अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भइरहेको छ। हेर्नेलाई समेत अप्ठेरो हुने गरी एक महानुभाव दुई वटा इँटामाथि राखिएको रातो कपडाको टुक्रामा उभिएका छन्। र अरुभन्दा विशेष भएका छन्। पछाडि उद्घाटन समारोह लेखिएको छ। के हो यो? को हुन् यिनी?

यो ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको फोटो हो। त्यहाँको प्रबुद्ध मावि च्यानमको खेल मैदानमा शुक्रबारदेखि गाउँपालिका स्तरीय प्रथम अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको रहेछ।

त्यसैको उद्घाटनका लागि पुगेका थिए।

प्रतियोगिताको मोहनकुमार खड्काले उद्घाटन गरेका थिए। खड्का को भन्ने पर्‍यो होला तपाईँलाई।

उनी सांसद हुन्। तर नझुक्किनुस्, उनी संघीय संसद अथवा भनौँ प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सांसद हैनन्। उनी त प्रदेश सभाका सांसद हुन्। ओखलढुंगाको साविक क्षेत्र नं. २, प्रदेश ख बाट उनी वाम गठबन्धनका साझा उम्मेदवार भई विजयी भएका थिए।

नेकपा बन्नुअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए मोहनकुमार खड्का जसको उपनाम ‘हिमशिखर’ हो। नामै यस्तो खतरा – हिमशिखर। अनि देखाउनु परेन शिखर व्यक्तित्व?

सिकेको चाहिँ केन्द्रबाटै हो। राष्ट्रपति भोटो जात्रामा उपस्थित हुँदाको फाइल फोटो हेर्नुस्