‘सरकार फेर्ने माग बेमौसमी बाजा, यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने हो’ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टी र साझा पार्टीले कोभिड–१९ विरुद्ध लड्न उच्चस्तरीय समिति गठनको माग गरेको प्रति इङ्गित गर्दै समिति बनाउने र सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका हुन् ।

दुवै पार्टीले गत शनिबार कोभिड–१९ बाट उत्पन्न विषम् परिस्थितिको सामना गर्न सर्वपक्षीय समितिको आवश्यकतामा जोड दिएका थिए ।

यस्तै कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनअघि फेसबुक लाइभमार्फत सहमतीय सरकार गठनमा जोड दिएका थिए ।

कांग्रेस नेता थापाले ट्विटरमा लेखेका छन्, “समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो । यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने ।”

उनले सरकारलाई पनि ताली बजाएर मात्रै सरकारलाई सहयोग नहुने पनि स्मरण गराएका छन् । “सरकारले पनि बुझोस् सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो । कहिले सुझाव त कहिले दबाब हो,” नेता थापाले भनेका छन्, “संकटमा दृढतापूर्वक सरकारसँगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं ।”