
काठमाडौं। विवादै विवादमा फस्ने अभिनेता विराज भट्ट यसपटक फेरि विवादमा फसे । अभिनेता भट्टले अभिनय गरिरहेको फिल्म साङ्लोलाई जिरायल गाउँपालिकाले १० लाख बजेट नै दियो । गाउँपालिकाको मिटिङ नै बसेर १० लाख दिएपछि यो फिल्म फेरि विवादमा परेको छ । भोली अरु फिल्मका निर्माताले पनि छायांकनमा जाँदा पैसा मागेभने के हुन्छ भन्ने तर्क सुरु हुँदैछ ।
विराजका लागि अहिले १० लाख रुपैयाँ निल्नु न ओकल्नु भएको छ । किनभने, यो फिल्ममा उनले १० लाख रुपैयाँ गाउँपालिकाबाट त फुत्काएका छन् । तर, यसका लागि गाउँपालिकाका अध्यक्ष र उनका दाइलाई नै फिल्ममा खेलाउनु परेको छ । फिल्म खेल्ने लोभमा गाउँपालिकाका अध्यक्षले १० लाख दिएका हुन् कि के हो भनेर बुझिएको छैन ।
विराजले पनि फिल्मको बजेटमा थोरै प्लस हुन्छ भनेर यो रकम लिइहाले । तर, अब यो रकमले उनको फिल्मलाई विवादित बनाउने छाँटकाँट देखिएको छ । यसले कतै विराजलाई १० लाख निल्नु न ओकल्नु हुने त होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।
अहिले त उनी डोटीमा रहेकाले केही पनि बोलेका छैनन् । तर, भोली फिल्मको कार्यक्रममा उनले यसको जवाफ दिनैपर्छ । भोली फिल्म भन्दा १० लाखको चर्चा बढी भयो भने के हुन्छ ? विराजले अहिले नै सोच्नु पर्ने अवस्था छ ।