
नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा एक महिला पत्रकारमाथि गोली प्रहार भएको छ ।
दिल्लीको मयूर विहार इलाकामा धर्मशील क्यान्सर अस्पतालको रेड लाइट नजिक गएराति साढे १२ बजे आसपासको समयमा गोली प्रहार भएको र अपराध सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकार मिताली चन्दोलाको हातमा गोली लागेको प्रहरीले जनाएको छ ।
घाइते पत्रकार चन्दोलालाई धर्मशीला अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । चन्दोला चढेको गाडीमा दुई गोली प्रहार गरिएको साथै अण्डाले पनि प्रहार भएको जनाइएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा यो घटना पत्रकार चन्दोलाको व्यक्तिगत रिसिइबीका कारण भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
घटना पारिवारिक विवाद वा लुटपाटको हो भन्नेबारे पनि छानबिन भइरहेको जनाइएको छ । केही दिनअघि दिल्लीको दक्षिणी क्षेत्र बारापुला फ्लाईओभरमा एक टिभी च्यानलको टिमका रात्रीकालीन कर्मचारीको क्याबमा लुटपाट तथा फायरिङ भएको थियो ।