
- महेश प्रधान
शनिवार बिहान ११ बजेर ५१ मिनेटमा चलचित्र ‘आप्पा’का मिडिया कोअर्डिनेटर दिनेश सिटौला दाईको फोन आयो । ‘आप्पा’ फिल्मका लागी दया दाईको अन्तर्वार्ता गर्नुपर्यो भन्नु भयो । हवस् दाई भने, अनि लागेँ उहाँकै क्याफे कफी एभिन्यु तिर । बाटोमा जाँदै गर्दा मनमा केवल तिन जिज्ञासा राख्छु भन्ने थियो दया दाईलाई ।
१. रियल लाइफ आप्पा र रिल लाइफ आप्पा
२. रिल लाइफ आप्पाले सिकाएको पाठ
३. रिल लाइफको आप्पाले रियल लाइफ आप्पालाई कुनै कुरामा परिवर्तन हुन हौसायो ?
यिनै तिन प्रश्न भनौँ या जिज्ञासा दया दाईलाई राख्छु भन्दै म कफी एभिन्युमा पुगेँ । केही अग्रज दाजुहरु हुनुहुन्थ्यो । कान्तिपुर दैनिकका सुशिल पौडेल दाई, ठुलो पर्दाका जीवन पराजुली दाई, द सिनेमा टाइम्सका दिनेश सिटौला दाई, जय होस् डटकमका प्रदिप कार्की दाई, सेतो पाटीका अशेश अधिकारी दाई, खबर हबका अर्गेलो जी, नेपाल न्युजका मनोज न्यौपाने भाई, मुभीमाण्डुका बिष्णु शर्मा जी लगायत । एकैछिन उहाँहरुसंग नै गफिए । मुभीमाण्डुका बिष्णु शर्माले दया दाईको अन्तर्वार्ता लिँदै हुनुहुन्थ्यो । अनी मेरो पालो आयो । मेरो भन्दा नि हाम्रो । म, प्रदिप कार्की दाई, अर्गेलो जी, मनोज न्यौपाने भाई चार जनाले संयुक्त रुपमा अन्तर्वार्ता लिने भयौँ । अन्तर्वार्ता सुरु भयो । केही प्रश्नहरु आप्पा टिमसंग जोडिँदाका प्रकृया, सुटिङको बेलाका अनुभवहरु साट्दै हुनुहुन्थ्यो दया दाईले । अनी हामी अलिक रियल लाइफ आप्पा र रिल लाइफ आप्पामा केन्द्रित भयौँ ।
मैले सोधेँ, रिलमा आप्पा बन्दै गर्दा रियल ‘आप्पा’ क्यारेक्टरले कत्तिको पिरोल्दो रहेछ ? उहाँको जवाफ थियो ‘एकदमै’ । उहाँले अगाडि भन्दै जानु भयो, आप्पा (बुबा) संग सधैँ हाम्रो गुनासो रहन्छ । तर, सबै कुराको महसुस चाहिँ आफु आप्पा (बुबा) बने पछि मात्र गर्न सकिने रहेछ । सन्तान बनेर बाबुसंग गरिने गुनासोलाई नजिकबाट नियाल्ने मौका पाए मैले । एउटा आप्पा (बुबा) समस्या देखि बहुत भाग्दो रहेछ । हुन त पुरुषहरु बलियो हुन्छ भनिन्छ, समस्यासंग लड़छ भनिन्छ तर सत्य होइन रहेछ । घरको मसिनो दुखसंग जुध्न नसकेर घर भन्दा अली टाढा बसेर म्यानेज गर्न चाहिँ खोज्दा रहेछन् । त्यही कारण सन्तानको आप्पा (बुबा) प्रति सधैँ गुनासो हुने रहेछ, यो टाइममा चाहिँँदा खेरि मेरो लागि केही गर्न सकिनस् भन्ने ।
मेरो छोराको पनि म संग थुप्रै गुनासोहरु होला । यस्तै गुनासोहरु समेटिएको छ फिल्ममा पनि । दया दाईले यो भन्दै गर्दा प्रदिप कार्की दाईले सोध्नु भयो, ‘केही परिवर्तन आएको छ दाई फिल्मको सुटिङ सकेर फर्किदा सम्ममा ?‘ प्रश्न भुइँमा झर्न नपाउँदै दया दाईले भन्नु भयो, परिवर्तन नै भन्दा पनि महसुस गराएको छ । हिजो म छोरा हुँदै गर्दा मैले मेरो आप्पा (बुबा) प्रति गरेका गुनासाहरु कत्ति थिए । मेरो आप्पा (बुबा) जत्तिको हिरो कोही होइन जस्तो पनि लाग्थ्यो । एक समय त यस्तो थियो मलाई लाग्थ्यो मेरो आप्पा (बुबा)ले मेरो लागी केही पनि गर्नु हुँदैन, मैले भनेको केही सुन्नु हुँदैन । म देखि किन टाढा हुनुहुन्छ मेरो बुबा ? कायर लाग्थ्यो आफ्नै आप्पा (बुबा) ।
तर, अहिले आफु आप्पा (बुबा) भए पछि म पनि त मेरो छोरा बाट टाढा हुन्छु । बल्ल महसुस भयो मेरो आप्पा (बुबा) त भगवान हुनुहुँदो रहेछ । मेरो छोराले पनि केही भन्यो भने म भोलि भन्छु । भोलि भोलि भन्दा भन्दै यती लामो लिस्ट बनाएर बसेको छ छोराले । मैले छोरालाई टाइम दिन नसकेको, उसले भनेको पुर्याउन नसकेको प्रति आत्माग्लानी छ । मलाई आत्माग्लानी हुँदै गर्दा उसलाई भने गुनासो छ म प्रति, जस्तो हिजो म छोरा हुँदा मेरो बुबा प्रति मलाई थियो । फिल्मको सुटिङ सकेर फर्किदा म मा परिवर्तन नै त भएन तर महसुस भने पक्कै हुन्छ ।
उहाँले आफ्नो अनुभव सुनाउँदै जानु भयो, मैले जहाँ सुटिङ गरे त्यो ठाउँ यस्तो थियो जहाँ फोन पनि लाग्दैनथ्यो । त्यो समयमा मैले करिब १० दिनमा बल्ल परिवारसंग बोल्न पाउथेँ । मेरो चाहिँ आदत के छ भने बिहान र बेलुका एक पटक चाहिँ परिवार संग बोल्छु । म त्यत्रो माया चाहिँ देखाउन सक्दिन र जान्दिन पनि । कारण म मा अहमता पनि छ, पुरुष हुनुको अहमता । त्यसैले पनि होला देखाउन नचाहेको वा नसकेको । फेरी परिवारसंगको कुराले निकै भावुक पनि बनाउँछ ।
बिहान बेलुका उनीहरुसंग बोल्दा गुड साउण्ड आयो भने मन शान्त हुन्छ । त्यही गुड साउण्डले मलाई दिनभरिलाई पुग्छ । बेलुका पनि उही हो उनीहरुको गुड साउण्डले मलाई पुग्छ । हुन त मैले अहिले सम्म मेरो परिवारलाई यो कुरा भनेको छैन । भोलि केही असजिलो हुँदा पनि मेरो श्रीमतीले सहज भएको एक्टिङ गर्देला । त्यो अलग कुरा हो । तर, म त्यत्तिकै माया चाहिँ नजिक बसेर देखाउन सक्दिन जति फोनमा बोलेर वा टाढा बसेर देखाउन या महसुस गराउन सक्छु ।
हुन पनि हो । मान्छे आफुले जसलाई सबै भन्दा बढी माया गर्छ त्यो व्यक्तिसंग टाढा हुँदा जति माया देखाउन सक्छ, नजिक हुँदा सक्दैन रहेछ । आफ्नै अनुभवलाई पनि कल्पना गर्दै थिए म मन मनै । हरेक पुरुषका भावनाहरु कतै न कतै मिल्दा रहेछन् भन्ने लाग्दै थियो मलाई ।
त्यत्तिकैमा फेरी पनि प्रदिप दाईले नै सोध्नु भयो, फिल्ममा पनि तपाइँको सन्तानको बालापन देखि युवा अवस्थासम्मको समयक्रम देखाइएको छ (ट्रेलर हेर्दा) । फिल्ममा त्यसको साक्षी बन्दै गर्दा यता रियल लाइफमा छोरालाई पनि यसो, उसो गर्नु पर्छ भन्ने महसुस भएको छ कि छैन ? दया दाईले भन्नुभयो, महसुस त पक्कै भएको छ । तर त्यो महसुस मै मात्र सिमित हुँदो रहेछ । मानिसको आदत परिवर्तन गर्न गाह्रो हुँदो रहेछ । दया दाईले आफ्नो छोरासंगको केही पलहरु सम्झनु भयो । अहिले त छोरा अलिक बुझ्ने भएको छ । कहाँ के गर्दैछ भन्ने बुझ्छ । तर पहिला उसले सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘पापा कहिले आउने ?’ । म ठ्याक्कै भन्दिन्थेँ कती दिन लाग्छ भनेर, जस्तै १० । मैले दिन भन्थेँ उसलाई चाहिँ गते लाग्थ्यो होला सायद अनि उसले सोध्थ्यो आज कति डे ? म आज १ गन भन्थेँ । अनि उसले १ बाट गन्न थाल्थ्यो ।
उसलाई लाग्दो हो, १० दिनमा पापा आउँछ अनि मलाई मन लागेको चिज किन्दिन्छ, सामान लेराइदिन्छ । उसलाई पापा जाँदैछ भन्ने पनि थाहा हुन्छ, आउँदैछ भन्ने पनि थाहा हुन्छ । उसलाई लाग्दो हो मेरो पापालाई धेरै मोह पनि होइन छोरासंग । उसलाई पनि इगो होला अहिले देखि नै मेरो पापा भनेको यस्तै हो, आउँछ जान्छ । कहिले कता कहिले कता । उही भेट्न आउँदा मैले भनेको सामाहरु, खेलौनाहरु किन्दिन्छ भन्ने नै होला । त्यो भन्दा ठुलो अपेक्षा केही पनि थिएन होला छोरालाई ।
दया दाईले यो अनुभव साट्दै गर्दा मैले सोधेँ, पिडाबोध हुँदैन दाई ? दाईले भन्नु भयो, हुन्छ नि । मलाई एउटा घटना याद छ करिब ३ वर्ष अगाडीको । हुन त त्यति खेर त म बहुत हाँसे । तर, मलाई एकदमै मन दुखेको थियो । अहिले सम्म पनि मन रूहाउँछ त्यो घटनाले । म परिवारसंग नै थिएँ । पापा घर आए नि एकछिन बस्छ अनि फेरी आफ्नो काममा निस्की हाल्छ भन्ने लाग्यो होला मेरो छोरालाई । अनि मेरो छोराले मलाई भन्यो, ‘पापा आज हाम्रै घरमा बसुम् न ।‘ त्यो चाहिँँ बडा पीडादायक थियो । मैले महसुस गरेँ कि आफ्नै घरमा म पाहुना जस्तो रहेछु ।
यो भन्दै गर्दा दया दाईको मनको पिडा मुहारमा झल्किन्थ्यो । आफ्नै छोराले आफ्नै बाबुलाई ‘पापा आज हाम्रै घरमा बसुम् न ।’ भन्दा कुन बाबुको मन नरोला र ? (कान्तिपुर)