ओलीलाई झूटप्रसाद भनेपछि नेकपा सांसदको आक्रोश, शेरबहादुरलाई छेरबहादुर देउवा भने के हुन्छ ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेकोका नेकपा सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद उमकान्त चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए ।

सभामुखसँग समय लिएर नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर छेरबहादुर देउवा भनेमा के हुन्छ भन्दै प्रश्न गरेका हुन् । उमाकान्त चौधरी बोलेलगत्तै नियमापत्ति गर्न उठेका रावललाई सभामुखले पछि समय दिएका थिए ।

‘प्रतिपक्षी दलका माननीय सदस्यले सम्माननीय प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नुभएको छ । हामीले बोल्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो ढंगले हुर्नुभएको छ । हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामी यहाँ बोलिरहँदा नेपाली जनताले के सिक्ने ? प्रतिपक्षी दलका मानननीयजीले सम्माननीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर करप्रसाद लगायतका झूटप्रसाद ओली भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवाको नाम छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’ उनले प्रश्न गरे ।

सांसद रावलले अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाउन समेत माग गरे ।

सभामुखको रुलिङ

नेकपा सांसद रावलले राखेको विषय गम्भीर भएको भन्दै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए । ‘माननीय सदस्यले उठाउनु भएको विषय गम्भीर छ । सभामुखको हैसियतले अहिले माननीय सदस्यले बोलेको कुरालाई गम्भीर ढंगले लिएको छु । मैले के गर्ने त्यो निर्णय पछि गर्छु,’ महराले भने ।