हलेसी महादेवबारे पढ्नै पर्ने अचम्मका यी तथ्यहरु

खोटाङ। हलेसी महादेव नेपालमा अबस्थित विश्वकै एक प्रसिद्ध किँरात, हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यसलाई त्रि–धार्मिक देवस्थलहरुकोपनि देवस्थल अर्थात किँरात, हिन्दू एवं बौद्ध धर्मालम्बीहरुका जतिपनि देवस्थलहरु छन् उनीहरुकोपनि शीरको रुपमा पुजिन्छ । यो साविकको सगरमाथा अञ्चल अहिले प्रदेश नं. १ को खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगरपालीकामा अवस्थित छ।

पुरानो सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।

हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान ९शिला०ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ ।गुफाको

भौगोलिक स्वरुप र उत्पति प्रशंग

महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ ।