
काठमाडौं। सर्लाहीमा नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्जको प्रहरीले हत्या गरेको घटनालाई लिएर सत्तारुढ दलभित्र तीव्र असन्तुष्टि देखिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एकजना नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सर कार व्यक्ति हत्यामा उत्रिएको भन्दै कडा आलोचना गरे।संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा नेता शर्माले विप्लवका कार्यकर्ताको सरकारबाट भएको एकपछि अर्को हत्याको कडा निन्दा गरेका हुन् । बैठकमा शर्माले सरकारले चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई गिरफ्तार गरेर हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए।
‘५-६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैले गरेको छ’, उनले भने, ‘यसले समस्या बढाउँछ। संवैधानिक बाटोबाटै संविधान उलंघन गर्नेहरुलाई कारबाही गर्न छाडेर सरकार आफैँले गलत बाटो समातेको छ।’समितिले बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानवीन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
यता, गृहमन्त्री रामबहादुर थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताएका थिए। उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताए। गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने दावी गरे। असार ५ गते सर्लाहीको लालबन्दीस्थित लखनदेही खोलामा विप्लवलका जिल्ला इन्चार्जको प्रहरीले गोली हानी हत्या गरेको थियो ।तर सरकारले त्यसलाई भुठभेड भन्दै आएको छ।