पौडेलको हत्याको बिरोधमा गरिएको भोलीको नेपाल बन्द विशेष

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा आज देशभर मसाल जुलुस निकाल्दैछ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको बिरोधमा ने.क.पा.ले भोली नेपाल बन्दको आह्वान गरेको छ ।

बन्दको पूर्वसन्ध्यामा आज उपत्यकासहित देशभर मसाल बाल्न लागेको ने.क.पा.ले जनाएको छ । इन्चार्ज पौडेलको असार ५ गते प्रहरीले निन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको भन्दै ने.क.पा.का महासचिव विप्लवले यसहघि नै बिज्ञप्ति निकालेर बन्द सहितको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्नुभएको थियो ।

सोहि कार्यक्रम अन्तरगत आज साझ देशभर मसाल जुलुस निकाल्ने र भोली नेपाल बन्दको आह्वान गरिएको हो । आफ्नो नेतालाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेपछि थप आक्रोशित बनेको नेपाल कम्युनिष्ट पार्टीले भोलीको बन्दलाई कडा पार्ने जनाएको छ।

सो पार्टीले भोलीको बन्द बिशेष हुने भन्दै सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ । सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको भन्दै सरकारको यस्तो हर्कत बिरुद्ध उत्रन आम जनसमुदायलाई ने.क.पा.ले अपिल समेत गरेको छ । साथै उसले बन्दको अबज्ञा गर्ने र गर्न उक्साउनेसमेतलाई निगरानीमा राख्ने र उचित सजायको लागि आम जनता समक्ष पेश गर्ने समेत बताएको छ ।