
काठमाडौं। गत जेठ १२ गते राजधानीको सुकेधारा र सिंहदरबारबाट केही किलोमिटर दूरीको घट्टेकुलामा बम विस्फोट हुँदा विप्लवकै ५ कार्यकर्ताको ज्यान गयो । त्यसको भोलिपल्ट आह्वान गरिएको बन्दका क्रममा ‘आतंक’ सिर्जना गर्ने उद्देश्यका साथ बम बनाउँदै गर्दा विस्फोट हुँदा सो घटना हुन पुगेको थियो ।
राजधानीमै विस्फोट गराएर आतंक सिर्जना गराउने गरी विप्लवका कार्यकर्ताले योजना बनाउँदै गर्दा प्रहरीले सुईँको समेत पाउन नसक्दा प्रहरीको अपराध अनुसन्धान र गुप्तचरी निकायमाथि नै प्रश्नचिन्ह समेत खडा भयो । यद्यपि अहिले प्रहरीले विप्लव समूहको गतिविधिमाथि निगरानीका साथै देशभरका प्रहरी युनिटलाई ‘हाइअलर्ट’मा राखेको जनाएको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युको बदलमा विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको अवस्थामा हुनसक्ने सम्भावित घटनालाई रोक्न देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै देशभरका प्रहरी युनिट हाइअलर्टमा रहेका हुन् ।
बन्दका क्रममा हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले रातोपाटीलाई बताए ।
नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी समेत गरेको छ । सँगसँगै आपराधिक घटना नियन्त्रणका लागि उपत्यकाको सुरक्षा रणनीति परिवर्तन गरिएको बताइएको छ । विप्लव समूहको बन्द असफल पार्न सरकारले ‘सुरक्षा रणनीति मार्गदर्शन’ समेत तयार पारेको बुझिएको छ ।
विप्लव समूहले आह्वान गरेको बन्दलाई मध्यनजर गर्दै उपत्यका केन्द्रीत भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । विप्लव समूहले छापामार शैलीमा आपराधिक गतिविधि सञ्चालन गर्न थालेपछि त्यसलाई रोक्न प्रहरीले भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरेको उनको भनाई छ ।
यस्तै उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहने बताइएको छ। सादा पोसाकमा खटिएका सुरक्षा अधिकारीले शंस्कास्पद स्थान र गतिविधिमाथि निगरानी बढाउनेछ । यसैगरी केन्द्रको समन्वयमा सातवटै प्रदेशको सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ । पुरा पढ्नुहोस…