दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडौं। दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ। दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ ।

सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणागरिएको हो ।

प्रस्तावित नीति तथा कार्यक्रमको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शीर्षकमा यो कार्यक्रम समावेश छ । नगरसभामा प्रस्तुत शिक्षासम्बन्धी कार्यक्रममा सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुद्दाय र अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई आवासीय शिक्षा दिने नगरपालिकाको योजना छ ।

अति विपन्न वर्गका परिवारका विद्यार्थीले उत्कृष्ट अंक ल्याई प्राविधिक शिक्षा पढेमा विशेष सहयोग गर्ने नगरपालिकाको कार्यक्रम छ । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले अघिल्ला वर्षहरूमा पनि शिक्षा क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गरेको र यो वर्ष गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा योजना बनाएर लागू गर्ने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।