
काठमाडौं। सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने ।
ठगिइसकेपछि मात्रै युवती आफ्नै गाउँकी भएको खुलासा
यही बीचमा कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे । उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो । कुराकानीकै क्रममा युवतीले आफू ‘संगीता बस्नेत’ को घरबेटी भएको बताइन् । युवतीसँग उनी अझ नजिकिए । उनले आफ्नो प्रेमिकाका बारेमा अझ गहिरिएर सोध्न थाले । युवतीले पनि ‘संगीता असल केटी भएको र विवाह गर्दा राम्रो हुने’ सल्लाह दिन थालिन् ।
कुराकानीकै क्रममा ती युवतीले ‘संगीता गम्भीर बिरामी भएको र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको’ बताइन् । प्रेमिका विरामी परेको खबरले उनलाई बेचैन बनायो । उनले सोही युवतीमार्फत उनको मुटुको अप्रेसन गर्र्नुपर्ने थाहा पाए । उनी तुरुन्तै भेट्न नर्भिक अस्पताल जाने मनस्थितिमा पुगे । युवतीलाई फोन गरे । युवतीले नर्भिक आउन भनिन् । उनी तुरुन्तै पुगे ।
युवती नर्भिक छिर्ने गेटमै भेटिइन् । भेट्न डाक्टरको स्वीकृति लिनुपर्ने भन्दै दुई घन्टा कुराइन् । पछि भेट्न नमिल्ने डाक्टरको सल्लाह रहेको उनले भनिन् । सहयोग गर्न भन्दै लिएर गएको डेढ लाख रुपैयाँ युवतीको हातमा राखिदिए । निराश हुँदै उनी घर फर्किए । भोलिपल्ट फेरि प्रेमिका भेट्न उनी अस्पताल पुगे । यसपटक पनि उनले भेट्न सकेनन् । तर, रकम भने कहिले आइएमई गरेर पठाउँथे । कहिले युवतीको हातमा राखेर पठाउँथे ।
प्रेमिका अब बाँच्न नसक्ने खबर उनले युवतीमार्फत थाहा पाए । भावुक बनेका उनले प्रेमिकाका फोटो राखेर नयाँ फेसबुक आइडी बनाउने निधो गरे । स्वीकृतिका लागि युवतीलाई सोधे । उनले हुन्छ भनिन् । लगत्तै कार्कीले युवतीको फोटो राखेर फेसबुक आइडी बनाए । हुनेवाला श्रीमती भन्दै आइडीमा भावना पोख्न थाले । त्यसको केही दिनपछि उनलार्ई प्रहरीको फोन आयो । अनुसन्धानका लागि भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु बेलाइयो ।
उनी निर्धक्क महाशाखा पुगे । सोधीखोजी गर्दा बल्ल पो थाहा पाए, प्रेमिका आवरणमा गफ गर्ने र आफूलाई घरबेटी भन्दै प्रेमिकाबारे वर्णन गर्ने युवती आफ्नै गाउँकी संगीता बस्नेत भुजेल रहिछिन् । प्रेमजालमा परी रकम ठगी गर्न उनले फेक आइडी बनाएकी रहिछिन् । जसमा फोटोसमेत अर्कै युवतीको राखेकी रहिछिन् । फोटोको दुरुपयोग भएको भन्दै ती युवती उजुरी लिएर प्रहरीमा पुगेपछि मात्रै यी रहस्य बाहिरिन पुग्यो । ‘पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत ठगी गर्ने यस्ता घटना बढेका छन् । प्रलोभनमा परेकाहरू फसेका छन्,’ थापाले भने ।
यसरी ठगिए कार्की
कार्की नेपाली सेनाका जवान हुन् । उनको काठमाडौंमै ड्युटी छ । अविवाहित उनी सामाजिक सञ्जालमा रमाउँदै थिए । यही क्रममा ‘संगीता बस्नेत’ नामको फेसबुक आइडीबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । आइडीमा अपलोड फोटो आकर्षक थियो । एसेप्ट गर्नुपूर्व उनले आइडीको प्रोफाइल हेरे । प्रोफाइलमा केही फोटा देखिए । सबै आकर्षक थिए । उनले फ्रेन्ड रिक्वेस्ट स्विकारे । लगत्तै आइडीवालाले ‘हाई’ भन्यो । उनले जवाफ फर्काए ।
दुईबीच निरन्तर कुरा हुन थाल्यो । फोन नम्बर आदान–प्रदान भए । अब कुराकानी फोनबाट पनि हुन थाल्यो । दुईबीच अन्तरंगका सबै कुराकानी भए । कार्की युवतीसँग भिडियो कल गर्न चाहन्थे, तर, उनी सधैँ टारिरहन्थिन् । फेसबुक र फोनमा भने घन्टौँ गफिन्थे । यसवेलासम्म कार्की युवतीको प्रेममा परिसकेका थिए । उनले तिनै युवतीसँग विवाह गर्ने मनस्थिति बनाए । फोनबाटै युवतीसँग विवाहको प्रस्ताव गरे । युवतीले पहिलो प्रस्ताव नै सहर्ष स्वीकार गरिन् । कार्की युवतीलाई भेट्न चाहन्थे, तर उनी भने अनेक बहाना झिकेर भेट्न इन्कार गरिरहन्थिन् ।