सरकारी ढुकुटी खर्चेर प्रदेशसभा सदस्यलाई महँगा ल्यापटप

काठमाडौ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई ल्यापटप वितरण गर्ने भएको छ । यहि असार मसान्त भित्रै प्रदेशसभा सदस्यहरूले ६० हजार भन्दा बढी मूल्यका ल्यापटप पाउने भएका छन् । चालू आर्थिक वर्षकै बजेटमा रहेको योजना आर्थिक वर्षको अन्त्यमा कार्यान्वयन गर्न लागिएको हो । सचिवालयका एक कर्मचारीले ल्यापटप खरिदको अन्तिम चरणमा प्रदेशसभा सचिवालय पुगेको बताए । ‘सबै काम अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘असार २०÷२२ मै सांसदहरूले ल्यापटप पाउँछन् होला ।’प्रदेश सभा सचिवालयले ४६ वटा ल्यापटपका लागि वैशाख ३१ गते राष्ट्रिय पत्रिकामा टेन्डर प्रकाशित गरेको थियो । २७ लाख ८३ हजारको ल्यापटपका लागि धनगढीका ३ व्यवसायीले टेन्डर दायर गरेका थिए । उग्रतारा टेक्निकल गुड सप्लायर्स, एस कम्प्युटर सप्लायर्स, कम्पोजर ट्रेड लिङ्क एन्ड जनरल अडर सप्लायर्सले टेन्डर दायर गरेको सचिवालयले जनाएको छ ।

यी मध्ये उग्रतारा टेक्निकल गुड सप्लायर्सको टेन्डर स्वीकृत भएको एक जना कर्मचारीले बताए । ‘न्यूनतम मूल्य ६० हजार पाँच सय आह्वान गरिएकोमा त्यो भन्दा कमको उग्रताराको मात्रै हो’ उनले भने ‘आन्तरिक रूपमा त्यही स्वीकृत भइसकेको छ ।’उग्रतारा टेक्निकल गुड सप्लायर्सले ६० हजार तीन सयमा ल्यापटप उपलब्ध गराउने भन्दै टेन्डर हालेको उनले बताए । वैशाख ३१ गते टेन्डर आह्वान गरिएको थियो । जेठ ३० गते भित्र तीन वटा व्यवसायीक फर्मबाट दरभाउँ आएको थियो । जेठ ३१ गते मूल्याङ्कन समितिले टेन्डर खोलेको थियो ।मूल्याङ्कन समितिबाट सबै काम भइसकेको छ’ सचिवालय स्रोतले भन्यो, ‘अब प्राविधिक मूल्याङ्कन समितिको प्रतिवेदन आउन मात्रै बाँकी छ ।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कम्प्युटर इन्जिनीयर सञ्जय टमटा नभएका कारण अहिले काम रोकिएको छ । टेन्डर खुलेको १५ दिनभित्र प्राविधिक मूल्याङ्कन समितिको प्रतिवेदन आउनु पर्ने हुन्छ । त्यसपछि ७ दिनको आशयको सूचना आवश्यक पर्छ । टमटा हाजिर भए लगत्तै मूल्याङ्कन समितिको प्रतिवेदन आउने र सात दिने आशयको सूचना जारी गर्ने तयारीमा प्रदेश सभा सचिवालय लागि रहेको छ ।

एउटा ल्यापटप लागि लबिङ
आर्थिक मामिला तथा योजना मन्त्रालयले ४६ जना प्रदेशसभा सदस्यहरूका लागि ल्यापटप किन्न रकम उपलब्ध गराएको थियो । तत्कालीन अवस्थामा सुदूरपश्चिम प्रदेशमा मन्त्री बाहेक सभामुख र उपसभामुख गरी ४६ जना प्रदेश सभा सदस्य रहेका थिए । प्रदेशमा मुख्यमन्त्री सहित ७ जना मन्त्री रहेका थिए । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा सदस्य प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेपछि अहिले प्रदेश सभामा ४५ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा सचिवालयले भने ४६ वटा ल्यापटपका लागि टेन्डर आह्वान गरेको थियो । सोही अनुसार टेन्डर स्वीकृत भएको छ । यस्तो अवस्थामा एउटा ल्यापटप बाँकी रहने देखिएको छ । बाँकी रहेको एउटा ल्याप्टका लागि विभिन्न व्यक्तिबाट लबिङ सुरु भएको बताइएको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारालामा तामाङ पनि लबिङमा रहेको स्रोतले बताएको छ । ‘संसदीय दलका लागि पनि एउटा ल्यापटप चाहियो भन्नु भएको छ’ सचिवालय स्रोतले भन्यो ‘बाँकी रहेको एउटा ल्यापटप लागि उहाँको जोड छ ।’ प्रदेश सभा सचिवालयका सचिव रामसिंह धाकमी भने यस विषयमा आफूलाई धेरै जानकारी नरहेको बताउँछन् ।

ल्यापटपमा विभाजित सांसद
प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई सरकारी ढुकुटी खर्चेर प्रदेशसभा सदस्यलाई ल्यापटप ल्यापटप उपलब्ध गराउने भएपछि यसमा प्रदेश सभा सदस्यहरू विभाजित भएका छन् । कोही ल्यापटप लिनुपर्ने बताउँछन् भने कोही लिन नहुने बताउँछन् । प्रदेश सभा सदस्य पूर्णा जोशी प्रदेशसभा सदस्यलाई सीपयुक्त बनाउनु सकारात्मक भए पनि फजुल खर्च गर्नु उपयुक्त नरहेको बताउँछिन् । ‘केहीलाई यो आवश्यक्त परेको होला तर मलाई आवश्यक्ता छैन’ उनले भनिन्,‘मेरो पनि ल्यापटप छ । मेरो स्वकीय सचिवको पनि छ । मलाई ल्याप्टप चाहिँदैन ।’प्रदेशसभा सदस्यहरूलाई विलासी बनाउन नहुने अधिकांश सांसदहरूको धारणा छ । ल्यापटप दिनु भन्दा पहिले यसको ज्ञान दिनुपर्ने केहीँ प्रदेश सभा सदस्यहरूको भनाइ छ । ‘केही सांसदहरूलाई त यो चलाउन पनि आउँदैन’ एक जना प्रदेश सभा सदस्यले भने, ‘यस्तो विलासी चिजमा बढी खर्च गर्नु उपयुक्त होइन ।’ उनले यो बजेटले विकास निमार्णमा लगाइनु पर्ने बताए ।

सत्तारुढ दलकै अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशी भने राज्यबाट पाउने सेवा सुविधा सहज रुपमा ग्रहण गर्नुपर्ने बताउँछन् । ‘राज्यले सबै हेरेर सेवा सुविधा दिएको हुन्छ’ उनले भने, ‘लिए सबै लिनु प¥यो नलिने भए त तलब भत्ता पनि नलिए हुन्छ नि ?’ प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू पनि यस विषयमा सहमत नभएको बताउँछन् । लेखा समितिका सभापति समेत रहेका नेपाली काँग्रेसका प्रदेश सभा सदस्य कुमारी नन्दा बम प्रदेशसभा सदस्यहरूलाई यस्ता सानातिना कुरामा अल्झिन नहुने बताउँछिन् । ‘विषयगत समितिका कार्यालयहरू अस्तव्यस्त छन्, कर्मचारी छैनन् । यस्तोमा ध्यान दिनुपर्नेमा ल्यापटप बाँड्ने मोबाइल बाँड्ने यो गतिलो कुरा होइन’ उनले भनिन् । उनले आफ्नो कार्यालयमा आधारभूत कुराहरू पनि नभएको गुनासो गरिन् । ‘मेरो कार्यालयमा फोटोकपी मेसिन पनि छैन । मलाई ल्यापटप भन्दा त्यो चाहिएको छ । चाहिने कुरा भन्दा नचाहिने कुरा बाँडेर प्रदेश सभा बसिरहेको छ’ उनले आक्रोश व्यक्त गरिन् । अधिकांश प्रदेश सभा सदस्यहरू प्रदेश सभा सचिवालयले ल्यापटप वितरण गर्दैछ भन्ने बारे भने अनविज्ञ छन् ।