एसईईको नतिजा सार्वजनिकबारे यस्तो आयो सूचना

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षाको परीक्षाफल आज प्रकाशित नहुने स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा बुधबार परीक्षाफल प्रकाशित हुने भनि आएका समाचारमा सत्यता नभएको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी गराएका छन् । नतिजा प्रकाशनका लागि बोर्डको अन्तिम तयारी पुगिनसकेको उनको भनाइ छ । यसैसाता भित्र नतिजा प्रकाशित गरिने उनले जानकारी गराए ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाए । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ । बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन । यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन् ।

अधिकारीका अनुसार कुनै प्राविधिक समस्या नआए भोलि बेलुकासम्म नतिजा सार्वजनिक हुने सम्भावना छ ।गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिलागरी नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ ।

यस वर्ष गत चैत १० गतेबाट सुरु भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार चैत १० बाट सुरु भई २१ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा सामेल भएका थिए । परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट एक लाख ६ सय २ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएका थिए ।परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।