घटनास्थल महोत्तरी देखाइएको छ, काठमाडौंबाट कसरी जाहेरी दर्ता गर्नु ? : एसएसपी ज्ञवाली

काठमाडौँ। महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ । जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अ’पह’रण गरेको भनेर दिएको उजुरी किन दर्ता भएन ? परिसरका एसएसपी श्यामलाल ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकारी :

किन जाहेरी दर्ता किन गर्नु भएन?

जाहेरी सरसर्ती पढ्यौं। घटनास्थल महोत्तरी राखेर ल्याइएको थियो, उतैबाट प्रक्रिया अघि बढाउनुस् भनेर फिर्ता गरिदिएका हौं।

कानुनमा त नजिकको प्रहरी कार्यालयबाट पनि दर्ता गर्न मिल्छ भन्ने छ नि?

हो, तपाइले भनेको सही हो। अर्को विकल्प नहुँदा त्यो पनि गर्न सकिन्छ। घटनास्थल महोत्तरी उल्लेख छ। अहिले महोत्तरीबाटै यो केस दर्ता गर्न के कठिनाई छ र?

आफ्नै निवर्तमान आइजीपी र सत्तारुढ दलका बहालवाला सांसदविरुद्धको केस भएर दर्ता गर्न अस्वीकार गर्नु भएको भन्ने आरोप छ नि?

अपराधको अनुसन्धान गर्न को कहाँ र के पदमा छ भन्नेले अर्थ राख्दैन।

जाहेरी दर्ता गर्न नमिल्ने कारण लिखितमा दिन पनि माग गरिएको थियो, तर त्यो पनि दिनु भएन रे?

मैले अघि पनि भने नि, वारदात (घटनास्थल) अरु नै जिल्ला राखिएको थियो। त्यही भएर उतैबाट दर्ता गर्नुस् भनेका हौं।

तपाईंहरुले उजुरी दर्ता गरेर महोत्तरी पठाउन मिल्थेन?

हामीलाई त्यो जरुरी लागेन। अरु विकल्प भएन भने त्यो पनि गर्न सकिन्थ्यो। तर उहाँहरु महोत्तरी जान नसक्ने स्थिति पनि त छैन नि।

यो प्रकरणको घटनास्थल त काठमाडौं पनि त हो नि?

हो, तर जाहेरीमै घटनाको उठान महोत्तरीबाट भएको उल्लेख छ। उता दर्ता भयो र हाम्रो सपोर्ट चाहियो भने महोत्तरीले लेखेर पठाउला नि ! त्यसपछि के कस्तो सहयोग गर्नुपर्छ गर्छौं।

जनता समाजवादीका नेताहरुले माथिको दबाबले दर्ता गर्न नमानेको भनेका छन् त?

त्यस्तो केही दबाब थिएन। हामीले सहजरुपमा उहाँहरुलाई घटनास्थल जहाँ हो, उतै गएर दर्ता गर्नुस् भनेका हौं। अपहरणजस्तो गम्भीर किसिमको केसमा न हदम्याद जान्छ, न समय अभाव। यो केसमा महोत्तरीमा गएर ढुक्कसँग दर्ता गर्न सकिन्छ। कान्तिपुर