पबिनाले गरिन् कपाल खौरिएर आमाको काजकिरिया

भक्तपुर। अझै पनि हाम्रो समाजमा सन्तानका रुपमा छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने परम्परा छ । छोराले अन्तिम संस्कार गर्ने र श्राद्ध गरेर जिवन पर्यन्त स्वर्गमा पठाउँछन् भन्ने धार्मीक मान्यताले छोरालाई बढी महत्व दिने गरिएको हो । तर अहिले समाज परिवर्तन भएको छ।

छोरीहरु पनि छोरा सरह अभिभावकको जिम्मेवारी निभाउन थालेका छन् । त्यसैले विस्तारै सन्तानलाई समान रुपले हेर्ने वातावरण बन्दै गएको छ । भक्तपुर लोकन्थलीकी एक छोरीले आमाको निधनपछि कपाल खौरिएर काजकिरिया गरेकी छिन्। दोलखाको तामाकोशी स्थायी घर भई हाल मध्यपुरठिमी नगरपालिका वडा नं। २ लोकन्थली घर भएकी पबिना श्रेष्ठले आमा जमुनाको निधन पछिको १३ दिने संस्कार पुरा गरेकी हुन्।

क्यान्सरका कारण लामो समयदेखि नेपाल प्रहरी अस्पतालमा उपचाररत जमुनाको ६ बैशाखमा निधन भएको हो । उनको १३ दिने मृ त्यु संस्कार बिहीबार सकिएको परिवारले जानकारी दिएको छ । जमुनाको श्रीमान र चार छोरी छन् । तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी पबिनाले निधन संस्कारको सबै प्रक्रिया पुरा गरेको पबिनाका बुबा हिरानारायणले जानकारी दिए । रोजगारीका लागि दक्षिण कोरिया रहेकी पबिना केही महिना अघि मात्रै नेपाल आएकी हुन्।

छोरी मात्र हुने आमाबुबालाई पछि कसले हेर्छ भनेर छोरा नै चाहिन्छ भन्ने सोचाइ अझै हटिसकेको छैन । तर आफ्नो आमाबुबालाई जीवित हुँदा राम्रोसँग हेरचाह गरेर निधन पछिको संस्कार पुरा गर्ने छोरीहरु समाजमा बढ्दै गएका छन् । पविनाले अहिले काजकिरिया मात्र नभई निधन संस्कारको पछि गरिने प्रक्रिया पनि गर्ने बताएकी छिन्।