सुन तोलाको १ लाख नाघ्ने अनुमान

  • हरिशरण न्यौपाने

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव देखिएको छ । बजार अनिश्चित बनेपछि सुनको मूल्य तोलाको १ लाख नाघेर नयाँ रेकर्डमा पुग्ने या अस्वाभाविक रुपमा घट्ने कुनै अनुमान गर्न सकिएको छैन । कोरोना भाइरसकोे संक्रमणपछि लकडाउनका कारण नेपाली बजारमा सुनको कारोबार ठप्प छ ।

यदाकदा संस्कारअनुसार आवश्यक पर्ने कार्यबाहेक सुनको कारोबार भएको छैन । लकडाउनकै समयमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सुनको मूल्य १७ सय ४३ डलरसम्म पुगेको थियो । सो अनुसार लकडाउनको अबधिमा नेपाली बजारमा छापावाला सुनको मूल्यले ८८ हजार रुपैंया प्रतितोलासम्म पुगेर नयाँ रेकर्ड बनायो । मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय रुपैयाँ रहेको छ ।

यता विश्वव्यापी रुपमा कोरोनाको संक्रमणले आर्थिक गतिविधि सुस्त बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कारखानामा कामदार अभाव र कारखाना नै चल्न नसक्ने अवस्था आएपछि सुन किन्न चाहनेले पनि अन्तर्राष्ट्रिय बजारमा सुन किन्न पाइरहेका छैनन् । उत्पादन मात्रै होईन वितरण पनि बन्द छ ।

लगानीकर्ता भने सुरक्षित लगानीको साधन सुन किन्न आकर्षित छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिदिन प्रतिऔंस २० देखि ३० डलरको आधारमा सुनको मूल्यमा परिवर्तन देखिरहेको छ । पूर्व अध्यक्ष शाक्यका अनुसार अन्तर्राष्ट्रिय सुन बजार अझै अनिश्चित छ । कोरोनापछि प्रतिऔंस सुनको मूल्य २ हजार डलर नाघ्नसक्ने वा १५ सय डलरमा झर्नसक्ने दुवै अनुमान भइरहेको छ ।

यदि मूल्य २ हजार डलर नाघ्यो भने नेपालमा प्रतितोला सुनको मूल्य १ लाख नाघ्नेछ । लकडाउनको समयमा चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँसम्म पुगेको थियो । मंगलबार चाँदी प्रतितोला ८ सय ५ रुपैयाँ कायम भएको छ ।