ओलीकाे राजिनामा मागे पार्टी फुट्छ : नेता नेम्वाङ

काठमाडौं। सत्तारूढ दल नेकपा भित्र अहिले चर्काे बिवाद छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपा गुट देखिएकाे बिवाद बिभाजनकाे बिटसम्म पुग्याे तर केहिदिन अघि बसेकाे सचिवालय बैठकले मत्थर पारेपनि हिजाे बसेकाे सचिवालय बैठकमा उक्त बिवाद झन छताछुल्ल भयाे यस परिस्थितिमा पार्टी का बरिस्ठ नेता तथा पुर्व सभामुख संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टी एकता भाड्ने गतिविधि नगर्न नेताहरुलाई अपिल गरेका छन् ।

नेता नेम्वाङ्गले पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको कताए ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन प्रधानमन्त्रीसँग भेट्ने थोरैमध्येका एक नेता उनी अध्यादेशको भने विपक्षमा थिए । उनले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिनसमेत सुझाव दिएका थिए ।

त्यही अध्यादेशकै कारण चर्किएको विवादले गर्दा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए दुवै पदबाट हटाउने चेतावनी स्थायी कमिटीका केही नेताहरुले दिइरहेकै बेला नेम्वाङले भने नेकपाका दुवै अध्यक्षलाई महाधिवेशनअघि कुनै पनि बहुमतले हटाउन नसक्ने दाबी गरेका छन् । हामीले नेता नेम्वाङसँग अनलाइन खबरमा लिईएकाे अन्तर्वार्ताकाे केही अंश लिएका छाै।

तपाईको मतलब, अबको महाधिवेशनअघि कुनै पनि कमिटीको बहुमतले अध्यक्षलाई हटाउन वा राजीनामा गराउन सक्दैन ?

त्यतातिर जाँदै जाँदैन र त्यो सम्भव नै छैन । त्यतातिर जाने स्थिति नै छैन । कुनै पनि गणितले अध्यक्ष हटाउने कुरा मैले सम्भव देखेको छैन । कोही पनि त्यसरी त्यो गणितबाट हटाउनेतिर अघि बढिराखेको मैले देखेको छैन ।

उसो भए राजीनामा माग्न पाइयो, तर हटाउन सकिँदैन होइन त ?

राजीनामा पनि कसैले भित्र माग्यो भने त छुट्टै कुरा हो । मैलेचाहिँ सुन्न पाएको छैन । मैले भनें नि कसरी हटाउन सकिन्छ ? कसरी राजीनामा माग्न मिल्छ ? यो त पार्टी एकता नै भंग हुने कुरा हो नि ।

अर्को कुरा पनि म भन्छु, अहिले हामी कोरोना विरुद्धको लडाइँमा छौं । यो मानव सभ्यताकै विरुद्धको रोग महामारी हो । कोरोनाको विरुद्धमा विश्व समुदाय एकजुट भएको छ । महाशक्तिहरु ध्वस्त भइरहेका छन् ।

छिमेकी भारतमा हेर्नुस, महाराष्ट्र राज्यको चुनाव भयो । चुनावी परिणामलगत्तै एकाबिहानै बीजेपीले सरकार बनायो । तर, दिउँसो हुँदा त अर्कै गठबन्धनको बहुमत भएर सरकार बन्यो । उता, अर्को प्रदेशमा कांग्रेसका २० जना सांसदले नै आफ्नो सरकार ढालेर बिजेपीतिर लागे । त्यो तिक्तताको बीचमा अचानक कारोनाको महामारीले भारतलाई ग्रस्त बनायो । त्योबेला प्रतिपक्षी कांग्रेसका नेताहरुले मोदीलाई चिठी लेखेर कोरोना विरुद्धको लडाइमा हाम्रो सहयोग, समर्थन छ भने । भारत अहिले हामीभन्दा धेरै अप्ठेरो अवस्थामा छ । तर, ऊ दाबी गरिरहेको छ, विश्वलाई हामी नमूना मोडल दिन्छौं ।

हाम्रो नेपालमा अहिलेसम्म एकजनाको मृत्यु भएको छैन । संक्रमितको संख्या सयभित्रै छ । त्यसमध्ये पनि धेरैजना बाहिरबाट संक्रमित छन् । अहिलेसम्म विश्व स्वास्थ्य संगठनले नेपालको यो लडाइँको प्रशंसा गरेको छ । यो ठाउँमा हामी उभिएको अवस्था छ । कोरोना विरुद्धको लडाइलाई अझ सशक्त बनाएर यसलाई सफलताको टुंगोमा पुर्‍याउनुपर्ने बेलामा यो ढंगले हामी लाग्छौं, यो ढंगले प्रश्न उठाउछौं भनेर मलाई त विश्वास नै छैन ।

अहिलेको समस्या केपी ओलीले दुईमध्ये एक पद छाडेर माधव नेपाललाई दिँदा समाधान हुन्छ भन्ने लाग्दैन ?

एउटा कुरा के राखौं भने सबैभन्दा बढी नेताहरु मिल्नुपर्छ भन्ने मान्छे म हुँ । सत्तापक्ष र प्रतिपक्षबीच राम्रो समझदारी हुनुपर्छ । जहाँसम्म हाम्रोभित्रको कुरा छ, समझदारी बनाएर जानुपर्छ र म लाग्छु ।

तर, मैले बुझ्न नसकेको कुरा के छ भने हामी सबैले एउटा प्रणाली बसाएर चुनाव भयो । जनताले अस्थिरता समाप्त गर्न भनेर ५ वर्षको म्याण्डेट दिए । कम्युनिस्ट पार्टी एक बनाउँछौ भन्यौं । जनताले त्यसलाई पनि हेरे होलान् । त्यो कम्युनिस्ट पार्टी एक हुने दिशामा अघि बढिरहेको अवस्था छ । अनि फेरि प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा प्रष्ट शब्दमा भनिराख्नुभएको छ, म एउटै कक्षा दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन । फेरि प्रधानन्त्री हुने पनि चाहना छैन । यस्तो अवस्थामा जनताको जनादेश विपरीत, जनता र कार्यकर्ताको चाहना विपरीत हामी किन प्रश्न उठ्ने ढंगले यस्ता काममा लाग्ने ? मलाई त विश्वास छैन । तर, कता–कता चर्चा सुन्छु । तर, त्यता नलाग्दा राम्रो ।

मिलेर जान त पावर शेयरिङ हुनुपर्ला नि ?

मैले प्रष्ट भनिसकेँ त । सबैजना नेता एक/दुईपटक प्रधानमन्त्री भएका, पटक–पटक अध्यक्ष–महासचिव भएका हाम्रा नेताज्यूहरु हुनुहुन्छ । उहाँहरु बस्नुस्, जनताका सरोकार र चिन्तालाई सम्वोधन गर्नुस्, अगाडि बढ्नुस् । तर, जनताको चाहना विपरीत अस्थिरता सिर्जना गर्न भने कसैले पनि पाउँदैन ।

यसरी त अहिलेको विवाद समाधान हुने भएन नि ?

यो सबको दबाइ त एउटै छ नि । हिजो–अस्ति हामीले पार्टीबाट महाधिवेशन यो मितिमा गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छौं । हामीले महाधिवेशनको मिति घोषणा गरेका छौं । यति गरिसकेपछि फेरि यो केको चर्चा, किन यो विवाद ? मिति घोषणा गर्नु भनेको त त्यो समयमा महाधिवेशन गर्छौं भनेको हो ।

मैले अघि औंल्याएको विषय त्यही हो । हामीले एकता प्रक्रिया शुरु गरेका छौं । त्यस सिलसिलामा महाधिवेशन घोषण गरिसकेका छौं । एकताको प्रक्रिया टुंग्याउन महाधिवेशन गरौं । त्यो महाधिवेशनबाट जो अध्यक्ष बन्ने हो, त्यहीबाट बनौं न । महाधिवेशन गरौं भनेर मिति घोषणा गर्ने, कार्यकर्ताहरुलाई आह्वान गर्ने, सिंगो देशलाई आह्वान गर्ने, अनि त्यतातिर नलागेर यतातिर लाग्नुहुँदैन ।

तपाईको मतलब, महाधिवेशनअघि बहुमतबाट कुनै पनि अध्यक्षलाई हटाउन सकिन्न भन्ने हो ?

मेरो त प्रष्टै भनाइ हो नि । मेरो उल्टै तपाईलाई प्रश्न छ, त्यसो गर्दा अथवा कुनै एक अध्यक्षलाई बीचमै हटाउँदा महाधिवेशन हुन्छ त ? एकता हुन्छ त ? एकता भाँच्ने खालको काम, महाधिवेशन नगर्ने खालको काम गर्न हुँदैन । त्यो गर्न त सम्भव नै छैन ।

उसो भए प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउन त सकिन्छ भनेरै त हस्ताक्षर–काउन्टर हस्ताक्षर भइरहेको होला नि ?

नेताहरुको यस्ता कुरामा ध्यान जानुपर्छ । पाँच वर्षका लागि सरकार चलाउने जनादेश लिएर प्रधानमन्त्री भएको व्यक्ति, जननिर्वाचित सांसदहरुबाट निर्वाचित प्रधानमन्त्रीका बारेमा प्रश्न संसदीय दलमा उठेको त होइन । मलाई त मेरो दलमा उठेको थाहा छैन । यो प्रश्न त पार्टीमा उठ्यो भन्ने मैले चर्चा मात्र सुनेको छु ।

संसदीय दलमा सांसदहरुले अविश्वास प्रस्ताव त ल्याउन सक्छन् नि ?

होइन, जुन कुराको इस्यु नै छैन, ल्याउन सक्छन् कि सक्दैनन् भनेर मैले भनिराख्नु पर्दैन ।

आफ्नै सांसदले नीति तथा कार्यक्रम असफल बनाइदिए भने के हुन्छ ?

कसले, कहाँ के बोल्नुभयो, मलाई थाहा छैन । मलाई विश्वास छ, त्यो स्थिति आउँदैन ।