एसईई उत्तिर्ण भएपछि करिश्मालाई बधाइको ओइरो, छोरीले दिइन् भावुक मेसेज

काठमाडौं। नायिका करिश्मा मानन्धर हुन त सधैं चर्चामै रहन्छिन् तर बिहिबार एसईईको नतिजा प्रकाशित भएपछि उनको चर्चा ह्वात्तै चुलिएको छ ।

२०७५ सालको एसईई परिक्षार्थी करिश्माले बी प्लस ल्याएपछि उनले जताततै प्रशंसा पाइरहेकी छिन् । सर्वसाधारणलगायत फिल्मी क्षेत्रका कलाकारले उनलाई बधाई दिइरहेका छन् । उनकी छोरी कबिता मानन्धरले पनि आफ्नो फेसबुक अकाउन्टमार्फत् आमाको सफलतामा भावुक हुँदै बधाई दिएकी छिन् ।

उनले बिहिबार बेलुकी लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’

आमाले एसईईमा सफलता हात पार्ने कुरामा आफू विश्वस्त भएको पनि उनले बताइन् । उनले भनिन्, ‘तपाईंले जीवनमा जे गर्नु चाहनुभयो त्यो गरेरै छोड्नुभयो र एसईईको कुरा गर्दा मलाई तपाईंमाथि अलिकति पनि शंका लागेन । तपाईंले यसमा राम्रो गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास थियो । बधाई ।’

उनले आफ्नी आमालाई यो यात्रामा सहयोग गर्ने शिक्षक, सहपाठी, विद्यालयलाई पनि धन्यवाद दिएकी छिन् ।

यस्तै, करिश्मालाई नेपाली सिने जगतका विभिन्न हस्तीले पनि बधाई दिएका छन् ।

पुरानी अभिनेत्री गौरी मल्लले आफ्नो फेसबुक अकाउन्टमा लेखेकी छिन्, ‘धेरै धेरै बधाई करिश्मा । तिमीले लिएको दृढ संकल्प सफलताका साथ पुरा भयो । अब आउने दिनहरुले अझ प्रगतिको शिखरहरु चुम्दै जाउन् । शुभ कामना ।’

यस्तै, पूर्व मिस नेपाल रुबी राणा शाहले पनि करिश्मालाई बधाई दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बधाई छ साथी, अघि बढ । सफलताको कामना गर्दै हरेक चुनौतीलाई उत्साहजनक ग्रहण गरेर उदाहरण बन्नु । औधी माया ।’

साथै, निर्देशक दिपा श्री निरौलाले पनि ‘चाहे के पुग्दैन… बधाई दिज्जु’ भन्दै बधाई दिएकी छिन् ।

यस्तै, हास्यकलाकार केदार प्रसाद घिमिरेले लेखेका छन्, ‘अभिनयमा विद्यावारिधीपश्चात् एसइइ उत्तिर्ण हुनुभएकोमा दिदीलाई हार्दिक बधाई , तपाईंको जीवन धेरैका लागि प्रेरणाको श्रोत बन्न सकोस् ।’

यस्तै, अभिनेत्री केकी अधिकारीले पनि करिश्मालाई फेसबुकमार्फत् नै बधाई दिएकी छिन् । उनले लेखेकी छिन्, ‘कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन । यो प्रेरणादायी सफल कोसिसको लागि हार्दिक धन्यवाद करिश्मा दिदी । आउँदा दिनहरु पनि यसैगरी उदाहरणीय बन्न सकोस् । धेरै धेरै शुभकामना ।’

करिश्माले एसइइमा बी प्लस आएकोमा आफू औधी खुसी भएको र अब सरकारी प्लस टुमा मानविकी लिएर पढ्ने बताएकी छिन् ।