काठमाडौं आतंकित पार्ने सन्तोषको बयान: रमाइलोका लागि काँटीले घोचें, रोग सार्ने नियत होइन

काठमाडौं। काठमाडौं उपत्यकामा युवतीमाथि श्रृखलावद्ध शंकास्पद आक्रमण गर्ने युवकले आफूले रमाइलोका लागि काँटीले घोचेको बयान दिएका छन् । प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबर राति समातेर बयान लिइरहेको छ ।

उनले डेढ महिनाअघि ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकार गरेको एक प्रहरी अधिकृतले बताए । उनलाई सीसीटिभी क्यामेराको फुटेजका आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको नैकापमा डेरा गरी बस्दै आएका कार्कीले महाराजगञ्जमा ‘गोल्डेन’ नामको क्याफे सञ्चालन गर्दै आएका थिए ।

उनको साथबाट प्रहरीले युवतीमाथि आक्रमण गर्दा प्रयोग गरेको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । प्रहरीसँगको साविती बयानमा कार्कीले भनेका छन्, ‘‘राति ९ बजेतिर पसल बन्द गरेपछि मोटरसाइलमा घुम्न जान्थें । राम्री युवती देखेपछि ढलानको काँटीले कम्मरमा घोचेर भाग्थें । यस्तो गर्दा निकै रमाइलो लाग्थ्यो । मैले चारजना महिलामाथी काँटीले घोचेको हुँ ।’’

आफूले गरेको कामबारे घरमा समेत कसैलाई जानकारी नभएको उनले बताएका छन् । कार्की विवाहित हुन् । आफूले ढलानको काँटीले घोचेपछि सञ्चारमाध्यममा विभिन्न समाचार आएपछि आफू निकै दुःखी भएको उनले बयानका क्रममा भनेका छन् । कार्कीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘‘समाचारमा आफूले गरेको कामको बारेमा लेखिएको पाएपछि निकै दुःख लाग्यो । मनमा छटपटी भयो । त्यसपछि मलाई ठूलो पश्चाताप भयो । मैले अरु आतंक फैलाउन खोजेको होइन । त्यसैले आक्रमण बन्द गरें ।’’

उनले रोग सार्ने नियतले आफूले त्यस्तो कार्य नगरेको बताएका छन् । यसअघि रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी र हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको थियो ।