
काठमाडौ । लामो समय देखि अर्थिक संकट झेल्दै आएको पाकिस्तान माथि उठ्ने संकेत देखिएको छैन । पाकिस्तानमा अहिले एक अमेरिकी डलर बराबर १६४ पाकिस्तानी रुपैँया भएको छ । लगातार डलरको मुल्य बढ्दै जाँदा पाकिस्तानी जनता मंहगीको मार खेप्दै आएका छन् । अहिले व्यापार व्यवसाय देखि लिएर हरेक क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको छ ।
लामो समय आतंकवाद र भ्रष्ट्राचारको मार खपेको पाकिस्तान अहिले पनि आफ्नो कुल आम्दानीको आधा हिस्सा ऋण चुक्ता गर्नमा नै सक्काउँदै आएको छ । भ्रष्ट्राचार गरेको आरोपमा एकजना पुर्व प्रधानमन्त्री नवाज शरीफ अहिले जेल सजाय काटिरहेका छन् । अन्य नेताहरु पनि सोही लाईनमा खडा भएका छन् ।
पाकिस्तानसँग अहिले पनि अत्याधिक वैदेशिक ऋण रहेको छ । वैदेशिक ऋणका कारण पाकिस्तानमा महंगाई लगतार बढ्दै गइरहेको छ । कतार, चीन, टर्की लगायतका देशहरुले सहयोग गर्ने आवश्वासन दिएको भए पनि अहिलेसम्म ठोस रुपमा लगानी भएको देखिएको छैन ।
पाकिस्तानमा अहिले बजेटलाई लिएर बहस भइरहेको छ । विपक्षी दलहरुले बजेट पास गर्न नदिने बताउँदै आएका छन भने सत्तापक्षले बजेट जसरी पनि पास गर्ने बताएका छन् । पाकिस्तानमा अहिले पनि राजनीतिक स्थिरता देखिएको छैन ।