
बुटवल। बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘सामान्यज्ञानदेखि लेखनकलामा अब्बल थिइन्,’ उनले भने, ‘सानो कुरामा पनि हेलचेक्र्याइँ गर्दिनथिइन् । असाध्यै मिहिनेत गर्थिन् ।’
सविना ४ जीपीए आउने आशामा थिइन् तर ढुक्क थिइनन् । सैनामैना नगरपालिकामा कृषि अधिकृत आमा सिर्जना घर फर्केकी थिइनन् । सूर्य लाइफ इन्स्योरेन्सका जागिरे श्यामप्रकाश बाबु दिउँसै घर आएका थिए । नतिजा आएपछि इन्टरनेटमा बाबुले नतिजा थाहा पाए ।
‘आफ्नै शैलीमा सिर्जनशील उत्तर लेख्ने बानीकै कारण सानो कक्षामा म प्रथम भइनँ । अहिले पनि त्यस्तै होला कि भन्ने डर थियो,’ उनले भनिन्, ‘धन्न त्यस्तो भएन भनेर खुसीले भक्कानिएँ ।’विद्यालयमा कोचिङ क्लास हुँदैनथ्यो तर कक्षा १० मा सार्वजनिक बिदाका दिनसमेत पढाइ हुन्थ्यो । सविना विद्यालय समयबाहेक दैनिक ८ घण्टा पढ्थिन् । लेखेर अभ्यास गर्थिन् ।
सविनाको रेडियोलोजिस्ट बन्ने इच्छा छ । रोग पत्ता लगाउन रेडियोलोजिस्टको ठूलो भूमिका भएकाले यही पढ्ने इच्छा लागेको उनले बताइन् । कक्षा ११ भने कालिका माविमै पढ्ने उनको भनाइ छ । सविनाले कक्षा ८ देखि साविक कालिका माविमा पढेकी हुन् । यो उनको आठौं विद्यालय हो । आमा सिर्जना कृषिकी जागिरे हुन् ।
उनको जागिर सरुवा जहाँ हुन्छ, सविनाले त्यतैत्यतै पढिन् । कालिका मानव ज्ञान माविबाट ३ सय ६८ जनाले एसर्ईई दिएका थिए । यसमध्ये ४८ जनाले ३.८ भन्दा माथि ल्याएका छन् । ए प्लस ल्याउने १ सय १९ र ए ल्याउने १ सय २६ जना छन् ।
बुटवलको कान्ति माविले पनि उत्कृष्ट नतिजा ल्याएको छ । २ सय १५ जनाले एसईई दिएकामा २ जनाले ३.९५ जीपीए ल्याएका छन् । तिलोत्तमाको शान्ति नमुना माविले पनि राम्रो नतिजा ल्याएको छ । यहाँकी छात्रा दिया पाण्डेले ३.९ जीपीए ल्याएकी छन् । बुटवलको नवीन औद्योगिक कदरबहादुर माविबाट १ सय ६० जनाले एसईई दिएका थिए । त्यसमध्ये विवेकसिंह कश्यपले ३.८४ जीपीए ल्याएका छन् ।
रूपन्देहीका करिब एक दर्जन सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी देखिएका छन् । निजी विद्यालयतर्फबाट बुटवलको न्यु होराइजन उच्च माविका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यहाँका प्रवेश आचार्य, क्षितिज डुम्रे, कपिल चौधरी, रोश्ना टण्डन, अनुष्का श्रेष्ठ, सदीक्षा कुँवर र सुयल ज्ञवालीले उक्त परिणाम ल्याएको विद्यालयले जानकारी दिएको छ । देवदह बोर्डिङ स्कुलका गौरव खनालले पनि ४ जीपीए ल्याएका छन् ।
अंग्रेजी पढाइले नतिजामा सुधार
विराटनगर– पोखरिया माविका एलिसा निरौला र अर्चना पोखरेलले एसईईमा ३ दशमलव ९५ जीपीए ल्याएका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयबाट १ सय २५ जनाले ए प्लस, ९७ जनाले ए र ७५ जनाले बी प्लस ग्रेड ल्याएका छन् ।
नेपाली माध्यमबाट परीक्षा दिएका ३ जनाले ए ग्रेड ल्याएका छन् । त्यसैगरी एभरेस्ट स्कुलका ७५ जनाले ए प्लस, ७८ जनाले ए र ११ जनाले बी प्लस ग्रेड ल्याएका छन् । सगरमाथा बोर्डिङ स्कुलबाट सय जनाले ए प्लस र ८४ जनाले ए ग्रेड ल्याएका छन् ।
अंग्रेजी माध्यमबाटै पढाइने आदर्श माविका २१ जनाले ए प्लस, ५२ जनाले ए, ४८ जनाले बी प्लस र ३३ जनाले बी ग्रेड ल्याएका छन् । सत्यनारायण माविबाट २४ ले ए प्लस, ५३ ले ए, ३८ ले बी प्लस, ८० ले बी र १३ जनाले सी प्लस ग्रेड ल्याएका छन् ।
चार जनाको ३.९५ जीपीए
चितवन– भरतपुर–१० को नारायणी नमुना माविबाट यो वर्ष एसईई परीक्षामा सामेल विद्यार्थीमध्ये चार जनाले ३.९५ जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीका अनुसार सभ्यता थपलिया, सुविनाकुमारी चौधरी, रोजसिन श्रेष्ठ र दिवस लामिछानेले ३.९५ जीपीएसहित ए प्लस ग्रेड ल्याएका हुन् ।
२८१ जनाले परीक्षा दिएकामा ८३ जना ए प्लसमा उत्तीर्ण भएका छन् । ९७ जनाले ए, ५३ जनाले बी प्लस, ४० जनाले बी र आठ जनाले सी प्लस ग्रेड ल्याएको दवाडीले जानकारी दिए । कक्षा ८, ९ र १० को पढाइ सञ्चालन गर्ने गरी २०२० सालमा नारायणी मावि स्थापना भएको थियो ।
२०२१ सालदेखि यहाँका विद्यार्थी एसएलसीमा सहभागी भइरहेका छन् । २०३८ सालको एसएलसीमा शून्य नतिजा आएको, ०५७ सालमा ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र त्यसयता २० प्रतिशत हाराहारी उत्तीर्ण हुने गरेको दवाडीले बताए । ‘०६८ सालपछाडि उत्तीर्ण दर राम्रो भएको हो, राष्ट्रियस्तरमै प्रभाव पार्ने गरेर हाम्रो नतिजा आउन थालेको छ,’ उनले भने ।
सञ्चालक समिति, शिक्षक र अभिभावको प्रयास र विद्यार्थीको मिहिनेतले नतिजामा सुधार आएको उनले बताए । ‘कमजोर विद्यार्थीलाई विशेष ख्याल गरेर पढाउने, कोचिङ कक्षा नियमित गर्नेजस्ता अभियानले नतिजा राम्रो आउन सहयोग गरेको हो,’ उनले भने ।
पाँच वर्षयता यहाँका विद्यार्थीले अंग्रेजी माध्यमबाट परीक्षा दिएका छन् । अंग्रेजी माध्यममा पढाइ र परीक्षा हुने भएका कारण धेरैको रोजाइमा यो विद्यालय पर्न थालेको छ । ‘शिक्षकलाई प्रोत्साहन र विद्यार्थीलाई रुचि जाग्ने तरिकाले पढाउने गरेका कारण हामीसफल हुँदै गएका हौं,’ उनले भने ।
सन्दीपले ल्याए ३.९ जीपीए
काभ्रे– दाप्चा माविका सन्दीप अधिकारीले ३.९ जीपीए ल्याएका छन् । ‘मिहिनेतअनुसार नतिजा आएकामा खुसी छु,’ सन्दीपले टेलिफोनमा भने, ‘घोक्नेभन्दा पनि सम्झने गर्थें, थोरै मिहिनेत गर्ने हो भने सफलता हासिल हुने रहेछ ।’ सन्दीपले डाक्टर बन्ने सपना रहेको बताएका छन् ।
‘अब विज्ञान विषय लिएर प्लस टु पढ्छु, त्यसपछि एमबीबीएस अध्ययन गर्ने सोचमा छु ।’ सन्दीपसँगै परीक्षामा सहभागी उनका दाजु कुलदीपले ३ दशमलव २५ जीपीए प्राप्त गरेका छन् । अधिकारीका बाबु किशोर र आमा नीता दुवै सोही विद्यालयमा पढाउँछन् । त्यसैगरी भालेश्वर मावि पनौतीकी शान्तिकुमारी तामाङले ३ दशमलव ८५ जीपीए ल्याएकी छन् ।
४ दृष्टिविहीन उत्तीर्ण
सञ्जीवनी नमुना माविबाट एसईईमा सहभागी ४ जना दृष्टिविहीन विद्यार्थी उत्तीर्ण भएका छन् । सहयोगीमार्फत परीक्षा दिएका पासाङ लामा र बाबु लामाले ३ दशमलव ३ जीपीए, प्रवीण स्याङतानले ३ दशमलव २५ र आंशिक दृष्टिविहीन अजितकुमार ठाकुरले २ दशमलव ८५ जीपीए प्राप्त गरेको प्रधानाध्यापक सानुकाजी महतले जानकारी दिए ।
डाक्टर बन्ने लक्ष्य
मकवानपुर– हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट यस वर्षको एसईई परीक्षामा सहभागी सुधीर सर्राफले ३ दशमलव ९५ जीपीए ल्याएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–१ का उनले अंग्रेजी माध्यमबाट परीक्षा दिएका थिए । ‘परीक्षा राम्रो भएको थियो, सोचेअनुसारको नतिजा आएन,’ उनले भने । डाक्टर बन्ने लक्ष्य बोकेका उनी पढाइको समयबाट केही फुर्सद भएको खण्डमा कहिलेकाहीं क्रिकेट खेल्ने गरेको बताउँछन् । उनका बुबा उमेशप्रसाद सर्राफ सुनचाँदी व्यवसायी हुन् ।
प्रधानाध्यापक वीरवंश बैठाले उनी मिहिनेती विद्यार्थी भएको बताए । यो विद्यालयबाट २ सय ३० जनाले परीक्षा दिएका थिए । तीमध्ये ए प्लस १२ जना, ए ५३ जना, बी प्लस ६१, बी ६७, सी प्लस ३६ जना र सी ग्रेड १ जनाले ल्याएका छन् । विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।