
काठमाडौं। म एउटा बाहिर कार्यक्रममा थिएँ, छोराको फोन आयो। ‘ममी तपाईको ‘बी’ र बहिनीको ‘बी प्लस’ आयो। रिजल्ट सुन्दा खुसी नै लाग्यो तर धेरै दंग भइँन। किनकी मैले बी प्लस आउने गरी नै पढेकी, मिहिनेत गरेकी थिएँ।
म र मेरो छोरीले सँगै एसईई दिएका थियौँ। यसकारण मेरो र बहिनीको रिजल्टको चिन्ता छोरालाई नै बढी थियो। पहिलो फोन उसैले गरेको थियो। त्यसपछि फोनको घन्टी लगातार बज्न थाल्यो, बधाइ आउन थाल्यो। फेसबुक पनि बधाइको मेसेजले भरिएको रहेछ। यो आफैमा त्यति ठूलो कुरा त नहोला तर मलाई रमाइलो अनुभव भइरहेको छ। यसले थप उर्जा दिएको छ।
बाहिर व्यस्त भएकोले छोरीसँग बसेर आज बल्लसँगै खाना खायौं हामीले। आमा छोरीबीच बधाइ साटासाट भएको थिएन, आज भयो। अब पढाइ यहीँ रोकिदैन। प्लस टु पढ्नुपर्ला। अब कहाँ दाङमा पढ्छु वा काठमाडौँ मै पढ्छु, त्यो भने निश्चित छैन। आफ्नो समय र सहजता अनुसारले कहाँ हुन्छ हेर्नुपर्छ तर पढ्न चै म सरकारी कलेज नै पढ्नेमा निश्चित छु।
सोचेजस्तो नम्बर आएन
सोचेजस्तो नम्बर चाँही आएन। अरू विषयमा भन्दा पनि गणित विषय सबैभन्दा गाह्रो लागेको थियो। गणितमा कडा परिश्रम गरेकी थिएँ। तर जब मार्कसिट हेरे, ठिकै लाग्यो। अपेक्षा अनुसार गणितमा नम्बर आएन।
अंग्रेजीमा भने राम्रो आएको छ। सामाजिक र नेपाली पनि ठीकै छ। अपेक्षा अनुसार त छैन। अलि बढी आउँछ कि जस्तो लागेको थियो। तर लेखाइ मिलेन होला। अब असन्तुष्ट हुनुको अर्थ पनि छैन। म सन्तुष्ट नै छु।
परीक्षाका लागि संसदमा एक महिना विदा
संसदमा एक महिना बिदा नै लिएको थिए। मिहिनेत कडा गरेकी थिएँ। घरमा शिक्षक नै राखेर ट्युशन पनि पढें। आफ्नो बलबुतामा सक्दो गरेको थिएँ।
परीक्षाको समयमा राजनीतितिर ध्यानै गएन। पुरै ध्यान यतै लगाएर पढेको हो। पार्टी, संसद तथा साथीभाइ सबैको सद्भाव र सहयोगको फल पनि हो यो नतिजा। म सबैलाई धन्यवाद दिन चाहान्छु।
रिजल्ट पछि निकै व्यस्त भएकी छु। सांसदहरु, दलका नेता तथा कार्यकर्ता सबैतिरबाट फोन लगातार आइरहेको छ।
पीएचडीसम्मको यात्रा
एसईईको परीक्षामा सामेल हुँदा नै मैले भनेकी थिएँ। मेरो पढाइको यात्रा अब पीएचडीसम्म पुग्छ। मैले त्यो अठोट गरिसकेकी छु। पढाइलाई उमेर, पेसा र राजनीतिले छेक्दैन। अब छोराछोरी हुर्केका छन्। मैले त मजाले पढ्न पाउने अवस्था छ।
ग्रेड ‘डी’ आएको भए त के पढ्ने भन्ने मै प्रश्न हुन्थ्यो। तर, बी प्लस आएकोले अब जुन पढ्दा पनि हुनेछ। नीति निमार्णको क्षेत्रमा छु, आफ्नो कार्य व्यस्तता र समयको व्यवस्थापनको आधारमा कुन पढ्ने भन्ने कुरा निर्धारण हुनेछ। कानुन वा राजनीतिक शास्त्रमध्येमा एउटा पढ्ने इच्छा छ।सानोमा पढ्ने अवसर पाइएन। परिवारको अवस्था र त्यहाँको परिवेश पनि त्यस्तै भयो। पढाइको यो मेरो यात्रामा मिडियाबाट मैले राम्रो साथ र सद्भाव पाएकी छु। तर कतिपयले भने अलि फरक ढंगले पनि समाचार दिएका छन्। कसैले हिम्मत गर्छ भने उसलाई प्रोत्साहित गर्नुपर्छ। तर, मिडियाले कति गर्न मिल्छ र कति गर्न मिल्दैन, उसको जिम्मेवारी र परिधि कति हो उहाँहरूलाई नै थाहा हुनुपर्ने हो। मैले भनिरहनु पर्दैन।
सामाजिक संजालमामा करिश्माजी र मेरो विषयमा हुने टिकाटिप्पणीको विषयमा मलाई खासै त्यस्तो लागेको छैन। अध्ययन मेरो सानै देखिको लक्ष्य। अध्ययन गर्न पाएँ, त्यही ठुलो विषय हो। मैले जे गरिरहेको छु वा करिश्माजीले जे गरिरहनु भएको छ, यो हामी जस्तै अरूका लागि पनि प्रेरणाको स्रोत हुनसक्छौँ। हामी पनि अरुबाट प्रेरित भएर यो यात्रामा लाग्यौं। मैले पनि कसैको देखेर, सुनेर त कसैको जीवनी पढेर नै हो आँट गरेको।
पढाइ मानिसको जीवनमा महत्वपूर्ण छ। आफ्नो कार्य क्षेत्रमा पनि उतिकै महत्व राख्दछ। पढ्ने कुरालाई उमेरले छेक्दैन।