
काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा दुई कोच परिवर्तन भएसँगै सुरु भएको विवादमा पारिश्रमिकको मुद्दा पनि मिसिएको छ।पाँच दिनअघि भ्वाइस अफ नेपाल पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको फेसबुकमार्फत गुनासो गरेका थिए।
शुक्रबार नेपाल लाइभले उनले पारिश्रमिक नपाएको विषयमा शोका नेपाल निर्देशक लक्ष्मण पौडेलसँग जिज्ञासा राखेको थियो। जवाफमा उनले फिरोजले पारिश्रमिक नपाएको स्टाटसबारे आफू प्रस्ट हुन नसकेको बताएका थिए। ‘उहाँको फुल पेमेन्ट भए जस्तो लाग्छ,’ उनले भने, ‘मैले अफिसमा कल गरेर बुझ्दा पनि लिनुपर्ने कति थियो, केको पैसा नपाउनुभएको हो त्यसमा कन्फ्युजन रहेको पाइयो। उहाँले प्रस्ट पारिदिए हुने।’
पौडेलको यस्तो प्रतिक्रियाबारेको समाचार नेपाल लाइभमा पढेपछि फिरोज झन् रिसाए। उनले फेसबुकमा निर्देशक पौडेललाई लामो खुलापत्र नै लेखेर आफूले पाँच लाख परिश्रमिक पाउनुपर्ने विषय सम्झाएका छन्।
फिरोजले निर्देशक पौडेलसँग गरेको च्याट संवादको स्क्रिनसट पनि राखेका छन्। त्यो हेर्दा फिरोजले पाउनुपर्ने रकमबारे निर्देशक पौडेल जानकार रहेको देखिन्छ। तर हामीसँगको कुराकानीमा पौडेलले आफू प्रस्ट नभएको भन्दै बचाउ गरेका थिए।
फिरोजले लेखेको खुलापत्र जस्ताको तस्तै
प्रिय लक्ष्मण दाइ,
पढेको थिएँ, अन्याय गर्नेभन्दा सहनेलाई बढी पाप लाग्छ। त्यसैले आफूमाथि चरितार्थ गर्न चाहिनँ। हिलोमा ढुंगा हान्दा छिट्टा आफैलाई लाग्छ भन्ने उखान जहीँतहीँ लागू गरेर पनि नहुने रहेछ।
कुरा सुरुबाटै गर्न मन लाग्यो। जब हामी ४ जनाको सहमतिमा सबै जना सेयरमा बसेर काम गर्ने मौखिक सहमति भएको कुरालाई पनि अस्विकार गर्नुहुन्छ भने त म यहाँ लेख्न नै छोडिदिन्छु। त्यसपश्चात् त्यो सम्झौता कहिल्यै लिगल पेपरमा परिणत भएन र अन्ततः मैले भ्वाइस अनि एएनसी छोड्ने निर्णय गरेँ। किनकि म एक्लो परेँ त्यो बखत। त्यसपछि मेरो तलब १५ लाख बराबरको निस्कियो जसमध्ये प्रल्हादजी मार्फत दुई किस्तामा ५–५ लाख प्राप्त गरेँ। अन्तिम किस्ता म यूएस उड्ने दिनमा थियो। मैले एएनसीका लागि लिएको ऋण एक लाख ४० हजार पनि बल्लबल्ल अन्तिम घडीमा प्राप्त गरेँ। बाँकीको ५ लाख समयसँग तपाईंले बिर्सिनुभो जस्तो लाग्यो ‘नेपाल लाइभ’मा तपाईंको जवाफ पढ्दा। यो खुल्ला पत्र तपाईंलाई त्यही बाँकी रकम याद दिलाउन लेखिराखेको छु।
घरीघरी आफ्नै काम बढाइ–चढाइ लेख्न त मन थिएन तर कसैको पसिना बिर्सिने टिमलाई यो सम्झाउन जरुरी छ। खराब सिस्टमसँग लड्न हतियार सहने मात्र होइन, त्यसको विरुद्ध जाने हिम्मत गर्नु पनि हो नत्र उमालेको पानीमा राखेको भ्यागुताको कहानी हर कोहीको बन्न सक्छ।
यतिका वर्ष तपाईंसँग काम गरे, एक हिसाबले गुरु नै मानेको थिएँ। मेरो साचो कर्म देख्ने मान्छेको रुपमा हेरेको थिएँ तर कुन पैसा??? वाला प्रसंगले मैले मान्छे चिन्न पो धोखा खाएँ कि भन्ने भान भइराखेको छ। तलको ‘स्क्रिन सट’ हालेको छु ‘१७ सेप्टेम्बर, २०१८’ को जहाँ म तपाईंसँग सहायता माग्दैछु त्यो पैसा पाउनका लागि। र तपाईं मलाई आश्वासन दिँदै हुनुहुन्छ। के यति काफी छ हजुरलाई याद दिलाउनका निम्ति?
मैले गरेको काम, मेरो मेहनत बराबरको रकम त्यो हो–होइन, म जान्दिनँ तर तपाईंले सोध्दा हुन्छ कि मेरो काम कस्तो थियो भनेर। चाहे सिनियर प्रोड्युसर कुबेर डंगोलजी होस् या त सिनियर क्यामेरा पर्सन सुशील बानियाँ। जीवन रिजाल वा निराजन कार्की। प्रोडक्सन म्यानेजर रोशन कालिकोटे होस् या त कोच वर्गहरुमा। एक हिसाबले भनूँ भने सयौँको बोझ बोकेर हिँडेको थिएँ। तपाईंलाई विश्वास लाग्दैन भने यस्ता धेरै प्रमाण छन् जुन म पेस गर्न सक्छु। अब भन्नुस्, ‘मैले पैसा पाउने कि नपाउने?’
यो लडाइँ मेरो पारिश्रमिकको मात्र रहेन, देशमा राजनीति सरकारी निकायमा मात्र होइन, प्राइभेट संस्थामा पनि उत्तिकै छिरेको छ, जसले म जस्तो देशमै केही गर्न खोज्ने युवाहरुलाई वितृष्णा जगाइदिएको छ। देशमा केही हुन्न भन्ने। यो कहिलेसम्म?