
काठमाडौं। झट्ट सुन्दा ‘प्रताप’ भन्ने वित्तिकै कुनै मान्छेको नाम हो भन्ने बुझिन्छ । त्यसैमा करिब ६५ हजार बराबरको मासु खाने भन्ने त जो कोहीलाई पनि पत्यार लाग्दैन, तर प्रतापले भने मासिक रुपमा त्यति रकमकै मासु खाने गर्छ।
‘प्रताप’ भनेको ललिपुर स्थित जावलाखेलको चिडियाखानामा पालेको एक पाटेबाघको नाम हो। चिडियाखानामा पाल्नका लागि ल्याइएका ‘बन्यजन्तुहरु प्रायः जुन ठाउँबाट ल्याइएका हुन्छन् त्यसलाई चिन्नका लागि त्यसै ठाउँको नामबाट चिडियाखानाका जनावरको नाम राखेको हो।’ राष्ट्रिय प्रकृति संरक्षण कोषकी सूचना अधिकारी लिना चालिसेले भनिन्, ‘हामीले प्रायः जुन ठाउँबाट जनावरहरु ल्याएका छौं। त्यसै ठाउँको नामबाटै नाम राख्ने गरेका छौं।’ उनले भनिन्, ‘पाटे बाघकै कुरा गर्ने हो भने पनि एउटा प्रतापपुरबाट ल्याएर प्रताप नाम राखेको र अर्को चितवनबाट ल्याएको हो।’
विश्वमा पाइने ५ प्रकारका बाघहरुमध्येको एक हो पाटेबाट । रोयल बेङ्गल (पाटे बाघ), अमुर, इन्डो चाइना, साउथ चाइना र सुमत्रान प्रजातिका पाइन्छन्। ती मध्येकै बालिनेश, क्यास्पियन र जाभान प्रजातिका बाघहरु त संसारबाटै लोभ भइसकेका छन्। यो रोयल बंगाल (पाटे बाघ) पनि नेपाल, भुटान, भारत, बंगलादेश, म्यानमार र चीनमा मात्र पाइन्छ।
प्रसस्तै आहारा पाइने, पानी नजिकै भएका घनघोर जंगलमा बस्ने बिशेषता भएको पाटेबाघले मृग, निलगाई, बँदेल, दुम्सी तथा घरपालुवा जनावरहरु यसको मुख्य आहारा हुन्। ‘चिडियाखानामा ल्याइसकेपछि जनावरको आहारा भने जंगलको भन्दा धेरै फरक हुन्छ।’ राष्ट्रिय प्रकृति संरक्षण कोषकी सूचना अधिकारी चालिसेले भनिन्, ‘जनावरको खाने कुरामा हामी एकदमै ध्यान दिन्छौं। सो जनावरले जंगलमा खाएको आहारा नै चिडियाखानामा एकदम ताजा र सफा हुन्छ।’
खानेकुरामै जोड दिएको हुँदा औषत आयु भन्दा बढी बाँच्ने गरेको उनले बताइन्। अघिल्लो वर्षमा मरेको बाघ सम्झिदै चालिसेले भनिन्, ‘बाघको १२ वर्ष औषत आयु भएपनि खानेकुरामा ध्यान दिएपछि चिडियाखानामा १६ वर्ष बाँचेको थियो।’ अहिले चिडियाखानामा २ वटा पाटेबाघ छन्। एउटा गत वर्ष ल्याएको र अर्को ४ वर्ष अगाडि ल्याएको।
बाघहरुलाई दैनिक ६ केजी बफ मासु खुवाउने गरेको छ। हप्तामा एक दिन भने केही खाना पनि नदिने गरेको उनले बताइन्। ‘महिनामा करिब २ पटक जिउँदै खरायो खुवाउने गरेका छौं। जिउँदै कुखुरा दिएपछि बाघले रौं सहित खान्छ। जसले गर्दा पाचन शक्तिमा सहज हुन्छ।’ उनले भनिन्। चालिसेका अनुसार बजारको मुल्य अनुसार एउटा ‘प्रताप’ले मात्र महिनाको करिब ६५ हजार रुपैँया बराबरको मासु खान्छ।
बाघलाई दैनिक ६ केजी बफ खुवाईन्छ महिनामा करिब २ पटक जिउँदै खरायो खुवाउने चलन छ । भने हप्तामा एक दिन भोकै राखिन्छ । यसरी प्रताप एक्लैले एक महिनामा ६५ हजार रुपैयाँको मासु मात्रै खान्छ।हाल १ सय १९ प्रजातिका जनावर तथा चराचुरङ्गी रहेको चिडियाखानामा १ हजार ८३ जीवजन्तु रहेका छन्। जसमध्ये पनि सबैभन्दा बढी चराका प्रजाति छन्। ५३ प्रजातिका चराहरु जम्मा ७ सय १३ वटा छन्। वार्षिक रुपमा चिडियाखानाका जनावर, सरीसृप, चराचुङ्गीलगायतका सबै जीवजन्तुको आहारामा मात्र झण्डै २ करोड खर्च हुने गरेको चालिसेले बताइन्।
उनले भनिन्, ‘केही लोपोन्मुख जातका बन्यजन्तुहरु त जति प्रयास गर्दा पनि बचाउनै सकिन्न। सालक, लाटिकोसेरोलाई धेरै प्रयास गर्दा पनि चिडियाखानामा बचाउन सकेनौं।’ जीवजन्तुहरुको संरक्षणका लागि विज्ञहरु, भेटनरीका चिकित्सकहरुले चिडियाखाना मै बसेर निरन्तर हेरविचार गरिरहेको उनले बताइन्।
यस्ता छन् पाटेबाघका विशेषता
बाघले अध्यारोमा मान्छेको भन्दा ६ गुणा राम्रोसंग देख्न सक्छ। त्यस्तै बाघको दुई कानको पछाडि दुई थोप्ला हुन्छ। डमरुले त्यहि थोप्ला हेरेर आफ्नो आमा कहाँ छ भनेर पत्ता लगाउँछ। बाघले आफू वरिपरी के भइरहेको छ भन्ने कुरा उसले आफ्नो जुँगाबाट थाहा पाउँछ। त्यस्तै बाघले आफ्नो आहारा सिकारको लागि ठूलो पञ्जा प्रयोग गर्छ र सिकार गर्छ। जति बाघ पौडिनलाई सिपालु हुन्छ त्यति रुख चढ्न भने सक्दैन। बाघले दौडने र रुख चढ्ने बेलामा आफ्नो पुच्छरले शरीरलाई सन्तुलन राख्ने गर्छ।