विवाह खर्च कटाएर विद्यालयलाई सहयोग गर्ने दम्पती सम्मानित

पर्वत। पछिल्ला दशकमा विवाह भड्किलो र खर्चिलो बन्दै गएको छ । कानुनले तोकेको भन्दा बढी जन्ती र खर्चका साथ विवाह हुने गरेका छन् । कसैको आर्थिक अभावमा सामान्य विवाह पनि हुने गरेको छ । विवाहमा दाइजो कम भएको भन्दै बेहुला पक्षबाट बेहुली पक्षलाई मानसिक र शारीरिक यातना मात्रै होइन बेहुलीको ज्यानै लिएको घटना सार्वजनिक हुने गरेका छन् । तर, यही बेला पत्रकार अशोक पौडेलले भने उदाहरणीय विवाह गरेका छन् ।

आफ्नो विवाह खर्च कटाएर आफू अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेसविज्ञ समेत रहेका पत्रकार पौडेलले आफूले अध्ययन गरेको पर्वतको कुस्मा नगरपालिका ३ स्थित काफलचौर माध्यामिक बिद्यालयलाई ५० हजार १ सय ११ रुपैंया आर्थिक सहयोग गरेका हुन् ।

उनले विद्यालयमा कम्प्युटर शिक्षक राख्नका लागि सहयोग पुगोस् भन्ने हेतुले उक्त रकमबाट कोष स्थापनाको शुरुवात गरेको जानकारी दिए । उक्त रकम वडा अध्यक्ष तेजप्रसाद पाध्याको उपस्थितिमिा पत्रकार पौडेलका बुवा यामनाथ शर्माले विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलाई हस्तान्तरण गरेका हुन्।

काफलचौर माध्यामिक विद्यालयमा कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा अध्यापन हुँदै आएको छ । कोष स्थापनााट कम्प्युटरको सैद्धान्तिक तथा प्राविधिक पठनपाठनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने, कम्प्युटर ल्याबलाई व्यवस्थित बनाउन आवश्यक स्रोत जुटाउने कुरामा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमले बताए ।

यही असार १० गते कास्कीको अन्नपुर्ण गाउँपालिका ८ बिरेठाँटीकी प्रतिभा सुवेदीसँग विवाह गरेका पत्रकार पौडेलले सामाजमा उदाहरणीय काम गरेका भन्दै स्थानीयले उनलाई बधाई दिएका छन् ।