पास्नीको भोज खाँदा तनहुँमा ४१ जना अस्पताल भर्ना

तनहुँ। जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् ।

श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए। भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै बिरामी परेकाले माछामा कैफियत हुनसक्ने बताए।

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ। बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।