आरडिटीबाट कोरोना देखिएन, प्रयोग नगर्नू – स्वास्थ्य अनुसन्धान परिषद

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सरकारी अनुसन्धान परिषद्ले कोभिड १९ पत्ता लगाउन प्रयोग गरिँदै आएको र्‍यापिड डाइनोस्टिक किट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ।

स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता प्रयोग गरिने आरडिटी किटले परीक्षण गर्दा आधा संक्रमितलाई समाजमा छाडेको भन्दै यसबाट परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाएको हो। ‘हामीले गरेको अनुसन्धानमा आरडिटी किटको पोजेटिभ देखाउने क्षमतामा ५० प्रतिशत मात्रै देखियो’, स्वास्थ्य अनुसन्धान परिषद् स्रोतले भन्यो, ‘त्यही भएर हामीले सकेसम्म यस किटको प्रयोग गर्न राम्रो नहुने सुझावसहितको रिपोर्ट बुझाएका छौँ।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि परीक्षणको दायरा फराकिलो बनाउने भन्दै निजी स्वास्थ्य संस्थाबाट पनि आरडिटी परीक्षण गराउन मिल्ने गरि अन्तरिम निर्देशिका पास गरिसकेको छ। यहीबीचमा परिषद्ले आरडिटी परीक्षणको परिणाम ठीक नभएको रिपोर्ट बुझाएको हो। यसअघि सरकारले ओम्नी समूहमार्फत चीनबाट ७५ हजार किट खरिद गर्दा विवाद बढेपछि त्यसको प्रभावकारिता जाँच गर्न परिषद्लाई जिम्मा दिइएको थियो।