भक्तपुरकी जनप्रतिनिधि महिलमा कोरोना पुष्टि

भक्तपुर। भक्तपुर नगरपालिका ९ की कोरोना संक्रमित महिला जनप्रतिनिधि भएको खुलेको छ। स्थानीय ४२ वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित महिला वडा सदस्य भएको स्थानीयले बताएका छन्।

जनप्रतिनिधि महिलालाई संक्रमण पुष्टि भएपछि शनिबार बिहानै संक्रमितको घर आसपासका क्षेत्र सिल गरिएको छ। ती महिलाको ६ जेठमा स्वाब लिइएको थियो।

संक्रमण पुष्टि भएपछि उनलाई राति नै उपचारका लागि पाटन अस्पताल लगिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन्।

संक्रमितको महिलाको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने काम सुरु गरिएको प्रहरीले जनाएको छ। भक्तपुरमा अहिलेसम्म ४ जनामा संक्रमण पुष्टि भइसकेको छ।