अब फेसबुकमा किन्नुहोस् आफुलाई चाहिएको सामग्री

काठमाडौं। सोसल मिडिया साइट फेसबुकले नयाँ ई–कमर्स प्लाटफर्म ‘फेसबुक शप’ सार्वजनिक गरेको छ । साथै फेसबुक र इन्स्टाग्राम लगायतका प्लाटफर्मलाई व्यवसायिक प्रयोजनका लागि समेत उपयोगी हुनेगरी सपिङसँग सम्बन्धित विभिन्न नयाँ फिचरहरु थप गरेको छ ।

फेसबुक सीईओ मार्क जुकरबर्गले फेसबुकको लाइभ भिडियो प्रसारणमार्फत उक्त नयाँ सेवाको घोषणा गरेका हुन् । फेसबुकको नयाँ सपिङ प्लाटफर्मले कोरोना भाइरस महामारीको बेला समस्याग्रस्त बनिरहेका लघु व्यवसायहरुको प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

किनमेललाई अड्चनरहित तथा सरल बनाउनु तथा लघु व्यवसायका मालिकदेखि ग्लोबल ब्राण्ड सम्मलाई फेसबुकमार्फत् आफ्ना ग्राहकसँग जोड्नु फेसबुकको मुख्य उद्देश्य रहेको उनको दाबी छ । फेसबुकको मुख्य एपलाई इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जरसँग जोड्ने एक नयाँ कडीको रूपमा समेत फेसबुक शपलाई हेरिएको छ ।

साथै ह्वाट्सएप र इन्स्टाग्रामबाट समेत आम्दानी सिर्जना गर्ने प्रयासका रूपमा फेसबुकले आफ्नो नयाँ शपिङ प्लाटफर्मलाई अघि सारेको छ । फेसबुकले सन् २०१२ मा १ अर्ब डलरमा इन्स्टाग्राम खरिद गरेको थियो भने सन् २०१४ मा १९ अर्ब डलर खर्च गरी ह्वाट्सएप खरीद गरेको थियो ।

सुरुवातमा फेसबुक शपिङ प्लाटफर्म निःशुल्क रहेको भए पनि यसले फेसबुकका प्लाटफर्महरुमा विज्ञापनमा वृद्धि गरी फेसबुकको आम्दानीमा बढोत्तरी हुने विश्वास फेसबुकको छ ।

जुकरबर्गका अनुसार नयाँ सपिङ फिचर फेसबुक र यस मातहतका एपहरुमा व्यवसायिक प्रवद्र्धन गर्ने सबैभन्दा ठूलो कदमको रुपमा रहेको छ । विश्वका धेरै कम्पनी तथा ब्राण्डहरुले फेसबुकलाई आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने माध्यमको रुपमा उपयोग गरिहेको अवस्थामा फेसबुकचाहिँ आफ्नै प्लाटफर्ममार्फत् कारोबार होस् भन्ने चाहन्छ ।

‘फेसबुक शप्स’ मा कम्पनीहरुले फेसबुक र इन्स्टाग्रामको संयुक्त भर्चुअल पसल खडा गर्न सक्दछन् । जहाँ कम्पनीहरुले अनलाइनमा सामानहरुको सूची राख्दछन् र त्यहीँ दिइएको आफ्नै वेबसाइटको लिंकमार्फत् वा फेसबुकको चेकआउट फिचर प्रयोग गर्ने कम्पनीहरु हकमा फेसबुककै प्लाटफर्मबाट सीधै सामानहरुको अर्डर लिन सक्दछन् ।