
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक करोड बिरुवा मागेका छन् । प्रदेश २ का जिल्लाहरूमा वृक्षरोपण गर्न भन्दै उनले प्रधानमन्त्रीसँग निमका एक करोड बिरुवा मागेको जानकारी वन तथा वातावरण मन्त्रालय स्रोतले दिएको छ ।
राउतले बिरुवा माग गरेको जानकारी प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ,’ स्रोतले कान्तिपुरलाई भन्यो, ‘के कति बिरुवा व्यवस्थापन गर्न सकिन्छ, खोजिदिनुस् भनेर हामीलाई आग्रह गरिएको छ ।’
राउतको मागअनुसारको परिमाणमा बिरुवा उपलब्ध गराउन भने नसकिने मन्त्रालय र वन तथा भूसंरक्षण विभागले जनाएको छ । सरकारले आगामी आवमा देशभर अभियानमार्फत ५ करोड बिरुवा रोप्ने घोषणा गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत आव २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ ।
त्यसको औपचारिक सुरुवात शनिबार प्रधानमन्त्री ओलीबाट भएको छ । शनिबार देशभरि करिब २० लाख बिरुवा रोपिएको मन्त्रालयको दाबी छ ।