विश्वकपमा २७ वर्ष पछि भारतले इङ्ल्याण्डसँग चाख्यो पहिलो हार

एजेन्सी। इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा भारतको अपराजित यात्रा सकिएको छ। आइतबार आयोजक इङ्ल्याण्डसँग भारत ३१ रनले पराजित भएपछि उसको अपराजित यात्रा रोकिएको हो।

सेमिफाइनलका लागि प्रवेशका लागि यस जितले इङ्ल्याण्डलाई भने ठूलै राहत दिएको छ। जितले उसको सेमिफाइनलको सम्भावना कायमै बनेको छ।

यसले पाकिस्तानको सेमिफाइनल यात्रालाई भने केहि कठिन बनाएको छ। इङ्ल्याण्डको जितले श्रीलंकाको विश्वकपबाट बहिर्गमन पक्का बनाइदिएको छ। त्यस्तै भारत विश्वकपमा २७ वर्ष यता पहिलो पटक इङ्ल्याण्डसँग पराजित भएको हो।

विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम पटक भारत १९९२ मा इङ्ल्याण्डसँग पराजित भएको थियो। त्यसपछि १९९९, २००३ मा भारतले जित दर्ता गरेको थियो भने २०११ को खेल बराबरीमा टुंगिएको थियो।

हिजो भएको खेलमा टस जितेको इङ्ल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउने आएको भारतले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा ३०६ रन मात्र जोड्न सक्यो र नतिजा इङ्ल्याण्डलाई सुम्पियो।

भारतका लागि रोहित शर्माले सर्वाधिक १०२ रन बनाए भने विराट कोहली तथा हार्दिकि पाँड्याले क्रमशः ६६ र ४५ रनको योगदान दिए। भारतका ओपनर केएल राहुल शून्यमा आउट भएका थिए।

यस्तै धोनीले अविजित ४२ रन बनाए भने विश्वकपमा डेब्यू गरेका ऋषभ पन्तले ३२ रन जोडे। भारतको यस पारीमा इङ्ल्याण्डका लागि लियाम प्लंकेटले ३ विकेट लिए भने क्रिक्स वोक्सले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले शतकीय पारी खेल्दै सर्वाधिक १११ रन बनाए। उनले १३८ बल खेल्दै १० चौका था ६ छक्का प्रहार गरेका थिए।

यस्तै बेन स्टोक्सले ७९ रनको योगदान दिए भने जेसन रोएले ६६ रन जोडे। इङ्ल्याण्डका कप्तान इयोम मोर्गान १ रन बनाएर आउट भएको खेलमा जोए रूटले ४४ रनको योगदान दिए। भारतका लागि मोहम्मद शमीले सर्वाधिक ५ विकेट लिए।

सामीले १० ओभरमा ६९ रन दिए। कुलदीप यादव र जसप्रित बुमराहले १-१ विकेट हात पारे। बुमराहले ४४ रन र कुलदीपले ७२ रन खर्चिए।