उड्न लागेको विमान ह्याङ्गरमा अल्झियो, सबै यात्रुको मृत्यु (भिडियोसहित)

ह्युस्टन। अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान भएको बिमान दुर्घटनामा विमानमा सवार सबैजनाको मृत्यु भएको छ ।

उड्न लागेको विमान विमानस्थल नजिकैकाे ह्याङ्गरमा अल्झिएर सानो विमान दुर्घटना हुँदा विमानमा सवार १० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । ह्याङ्गरमा अल्झिएको विमानमा आगो लागेपछि त्यहाँ भएका सबै यात्रुको ज्यान गएको हो ।

डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।