विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, सेनाकाे तीनवटा हेलिकोप्टरमा संखुवासभा उड्यो

काठमाडौं। संखुवासभामा भएको दोहोरो भिडन्तपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइएको छ । काठमाडौंबाट १५ जना सशस्त्र प्रहरी र ३५ जना नेपाल प्रहरीको टोलीलाई नेपाली सेनाको तीनवटा हेलिकोप्टरमार्फत घटनास्थलतर्फ पठाइएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिनुभयो।

संखुवासभामा ड्युटीमा रहेका १९ जनाको सशस्त्र प्रहरी टोलीलाई अज्ञात समूह गोली प्रहार गरेपछि जवाफमा प्रहरीले पनि फायरिङ खोल्दा दोहोरो भिडन्त भएको थियो । उनीहरु खाना खाइरहेको बेला अज्ञात समूहले गोली चलाएको हो । भिडन्तपछि अज्ञात समूह त्यहाँबाट भागेको एसपी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैतर्फ कुनै पनि हताहती भएको छैन भने अहिले घटनास्थलको अवस्था सामान्य छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा बम राख्दै आएको प्रतिवन्धित विप्लव समूहले नै प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको आशंका छ । संखुवासभाको अवस्था सामान्य सामान्य बताउने प्रहरीले हेलिकोप्टरमार्फत ५० जनाकाे प्रहरी टोली त्यसतर्फ पठाउनुले अवस्था गम्भीर रहेको प्रस्ट बुझ्न सकिन्छ।