संसदमा निशान छाप परिवर्तनको लागि संविधान संशोधन विधेयक पेश

काठमाडौं। संघीय संसदको प्रतिनिधि सभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पेश गरेकी हुन्।

आइतबार संसद बैठकमा पेश गरिएको सो विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।सरकारले हालै नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि यसलाई संविधानको अंग बनाउन सो विधेयक संसद बैठकमा पेश गरिएको हो।

उक्त नक्सा संविधानको अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । यही जेठ ५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अद्यावधिक गरेर नयाँ नक्सा जारी गरेको थियो।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।