कोरियाको कहरः कोमामा ओम, बेदनामा उमा

काठमाडौ। वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो ।शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै भाव छैन । बोल्न सक्दैनन् । आँखाले हल्का इशारासम्म गर्न सक्छन्, जसको भाव उनकी पत्नी उमाले मात्रै बुझि्छन् । दुखाईको भाव व्यक्त हुनासाथ उनी व्यग्रतापूर्वक श्रीमानका हात गोडा मुसार्छिन् । आफ्नो मायालु स्पर्शले श्रीमानको कक्रिएको शरीरलाई कुनै त्राण दिएको छ वा छैन उनलाई थाहा छैन ।

पत्नीको स्नेहलाई टुलुटुलु हेरिरहन्छन् प्रेम, तर प्रतिक्रियाविहिन छन् । बेडमा लड्दा-लड्दा ओमको पछाडितर्फको भागमा घाउ भएको छ । त्यही घाउ दुखिरहन्छ । उमाको शरीरमा घाउ छैन, तर श्रीमानलाई दुख्दा उनलाई पनि उस्तै दुख्छ । उनको घाउ त मनमा छ ।‘बाबा गाह्रो भाको छ ?’ उमा सोध्छिन् । ओम मुस्किलले आँखाका परेला जोड्न खोज्छन् । उमा अत्तालिएर डाक्टर र नर्सलाई भन्छिन्, ‘डाक्टर साब गाह्रो भएको जस्तो छ !’ डाक्टर भन्छन्, ‘नआत्तिनुस् न ।’