१९५० को सन्धि खारेज गरेर भारतले नेपालसँगको सम्बन्ध सुधार्नु पर्छ – भारतीय सी राजा मोहन

काठमाडौं। नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामलाका जानकार सी राजा मोहनले सन् १९५० को सन्धि खारेज गरेर भए पनि भारतले नेपालसँगको सम्बन्ध सुधार गर्नुपर्ने बताएका छन्।

इन्डियन एक्सप्रेसमा मंगलबार प्रकाशित आफ्नो लेखमा उनले सन् १९५० को सन्धिको विकल्पमा पुनरावलोकन गर्न, बदल्न या रद्द गर्नुपर्नेमा जोड दिएका हुन्।

भुटानसँग १९४९ को सन्धि पुनरावलोकन गरेको स्मरण गराउँदै उनले आफ्नो लेखमा भनेका छन्, ‘कुनैपनि देशबीचको द्विपक्षीय सम्बन्ध भावनामा आधारित हुँदैन बरु विश्वास, विचारधारा वा विरासतमा आधारित हुन्छ । ती साझा स्वार्थको जगमा रहेर भोगिन्छ।’

नेपाल र चीनबीचको सम्बन्धको विरोध गर्ने भन्दा पनि नेपालसँगको सम्बन्धलाई भारतले यथार्थपरक रुपमा बलियो बनाउनतर्फ ध्यान दिनु पर्ने सुझाव दिएको मोहनले भने, ‘दिल्लीले चीनसँग नेपालको सम्बन्धको विरोध गर्नेभन्दा आफ्नै सम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हनुपर्छ।’