
काठमाडौं । आइतबार असार १५ । कृषि प्रधान देशमा कसैले साँच्चिकै हिलाम्मे भएर रोपाइँ गरे त कसैले सामाजिक संजालमा फोटो राख्नका लागि मात्रै भए पनि नाटक गरे । कृषिमा नेपालको परनिर्भरता बढ्दै गइरहेको सन्दर्भमा सरकारले यथोचित सिँचाईको व्यवस्था गर्न नसकेको र सबैभन्दा बढी खपत हुने धानका लागि प्रवन्ध गर्न नसकेको आरोप लागेकै छ ।
त्यसमाथि अहिलेको कम्युनिष्ट सरकारले कृषिलाई प्राथमिकता दिनुको सट्टा आधुनिकताका नाममा चर्तिकला गर्दै आइरहेको देखिँदै छ। त्यसमाथि आफूले आफैलाई ब्यंग्य गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माननीयले देखाएको हर्कत भने क्षमायुक्त हुन सक्ने अवस्थाकै छैन । ती पात्र हुन् माननीय नवराज सिलवाल । उनले चुनावका बेलामा धान काट्दै गरेको फोटो राखेर चर्चा बटुलेका थिए ।
अहिले फेरि त्यस्तै चर्चा बटुलेका छन् –नकारात्मक चर्चा । सामान्यतया रोपाइ गर्दा हिलो हुन्छ । हिलोमै धानको बीउ रोप्ने हो । तबमात्र रोपाइ हुन्छ । हिलोदेखि डराउनेले कहिल्यै पनि रोपाइ गर्न सक्दैन । तर मानयीय सिलवालको डिक्सनेरीमा भने हिलोबिना पनि रोपाइ हुन सक्छ भन्ने एउटा आधुनिक ब्यंग्य देखिएको छ । उनले खेतको आलीमा बसेर रोपेको धानमा पञ्जा लगाएर फेरि रोपाइ गर्दै गरेको फोटो राखेका छन् सामाजिक संजालमा ।
फोटो खिच्नका लागिमात्रै यो हर्कट गरेकोमा दुईमत छैन । तर एक पूर्व वरिष्ठ प्रहरी अधिकृतसमेत रहेका उनले मर्यादा भुलेर यस्तो फोटो राख्दा भने सच्चा किसानको चित्त दुख्नु स्वभाविकै हो । कार्य कर्ताले संगसंगै बसेर तस्वीर खिच्नु अलग कुरा हुन सक्ला । तर ललितपुर क्षेत्र नम्बर १ का जनप्रतिनिधि उनलाई धान रोप्ने कसरी भन्ने कुराको जानकारी छैन भन्न सकिँदैन । उनी ललितपुरे नै हुन् ।
उनले देखाएको हर्कतले सामाजिक सञ्जालमा पाखण्डको रुपमा उनको आलोचचना भइरहेको छ। देखावटी नै भए पनि कम्तीमा धान रोप्ने बेलामा कसैले पनि पञ्जा लगाएर र पार्टी सुज लगाएर गएको देखिएको थिएन । कतै पञ्जा र सुजमा हिलो त लागेन पनि भनी प्रश्न समेत उनलाई गरिएको छ । हामीलाई पनि सोध्न मन लागेको छ कतै हातमा हिलो त लागेन नि नवराज सिलवाल ज्यू ?