आइफा अवार्ड ६० करोड दर्शकले हेर्छन्, अर्बौं नाफा हुन्छ: मन्त्री बाँस्कोटा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अर्वाड (आइफा) कार्यक्रममा नेपालले नाफाको व्यापार गर्ने बताएका छन्।

मंगलबार विकास तथा प्रविधि समितिमा विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ को छलफलमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। नेपाल सरकारले घाटाको व्यापार गर्दैन, नाफाको व्यापार गर्ने हो।’

सांसद राम बहादुर विष्टले सरकारले ४४ करोड रुपैयाँ दिन लागेको भन्ने प्रश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले यसबाट विश्वका सयभन्दा धेरै देशमा मुलुकको प्रचार हुने र त्यसबाट अर्बौं रुपैया नाफा गर्न सकिने बताए।

उनले यसअघि श्रीलंकमा भएको आइवा अवार्डमा उक्त देशले झन्डै २ अर्ब नाफा गरेको उदाहरण प्रस्तुत गरे।

‘श्रीलंकमा भएको बेलामा त्यहाँका मेनस्ट्रिम मिडियाले लेखेको खोजेर हेरेँ,’ मन्त्री बास्कोटाले भने, ‘त्यहाँ १.१ बिलियन सरकारी लगानी भएको, ४.१ बिलियन आम्दानी र सरकारलाई झन्डै २ बिलियन नाफा भएको रहेछ।’

श्रीलंकामा हुदा उक्त कार्यक्रम विश्वका १२० देशका करिब ६० करोड दर्शकले हेरेको समेत उनले बताए।

यस उदाहरणले नेपालमा पनि त्यस्तै भव्य कार्यक्रम हुने र नेपालाई पनि नाफाको व्यापार हुने उनको तर्क छ। यो कार्यक्रम नेपालको काठमाडौंमा भइरहेको छ भनेर विश्वभरका ५०–६० करोड मान्छेले एकसाथ हेरे भने नेपालप्रतिको जिज्ञासा बढ्ने उनले बताए। बलिवुडका विश्व चर्चित कलाकार आउने हुदाँ यसले नेपालको पर्यटन बजारको बजारीकरण गर्ने उनले बताए।

काठमाडौंमा आइफा अवार्ड कार्यक्रम हुने निश्चित भए पनि सरकारले एक सुको पनि नदिने दोहोर्‍याए। ‘सरकारले सुकापनि दिने कुरा गरेको छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले कुनै निर्णय गरेको छैन।’

आयोजकले कार्यक्रम सम्पन्न गर्न ठूलो खर्च गर्नेछन्। ५६ करोड रुपैयाँमा एक टेन्ट नै हाल्न लागेकाले सरकारले ४४ करोड दिइहाले पनि उनीहरुलाई केही नहुने मन्त्री बाँस्कोटाको भनाइ छ।

उनीहरुले एक टेन्ट नै ५६ करोडको राख्दैछन्। ‘हामीले यदि ४४ करोड दिइहाले पनि पुग्दैन,’ मन्त्री बाँस्कोटाले भने। यो नेपालको लागि अवसर र चुनौति भएकाले सरकारले आर्थिक, सांस्कृतिक र सबै विषयमा हित मात्र हेर्ने बताए।