कान्छो मेयरको गर्जन : कमला उत्खनन गर्ने दलाल र माफीयालाई तह लगाउनुपर्छ

जनकपुरधाम। धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला नदीमा अवैद्य उत्खनन गर्ने दलाल र क्रसर डनहरुलाई कानुनै मार्फत तह लगाउनुपर्ने बताएका छन्।

कमला नदी नीरिक्षणको क्रममा बोल्दै मेयर बरबरियाले कमला नदीबाट चोरी निकासी गरी अवैद्य रुपमा ग्राभेल उत्खनन गरेको भन्दै माफियाहरुलाई कानुन मार्फत तह लगाउनुपर्ने जीकिर गरेका छन् । कमला बचाउ अभियानका अभियानी समेत रहेका मेयर बरबरियाले कमला नदीमा रातराती अवैद्य रुपमा उत्खनन नरोकिएको भन्दै अभियानी टिमहरुले आज (शनिबार) नीरिक्षण गर्न कमला पुगेका थिए ।
सो क्रममा उनले कमला र विमला नदीको इतिहास तथा धार्मिक अस्तित्वबारे समेत बोल्दै धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदिको अवैद्य उत्खनन रोक्न आफूहरु हर सम्भव प्रयास गरेको बताएका छन्।

उनले पर्यावरण जोगाउनको लागि अब अर्को दिलीप महतोले बलिदानी दिनुपर्ने अवस्थालाई निरुत्साहित गर्न कानुनको विकल्प नभएको प्रतिक्रिया दिए । उनले पर्यावरण, वातावरण र कमला नदीको अस्तित्व जोगाउनको लागि आफू कहिले पछाडी नहटेको जनाउँदे आगामी दिनमा समेत पछाडी नहटने प्रतिवद्धता जाहेर गरे।

सो क्रममा उनले कमला नदीको अवैद्य उत्खनन विरुद्ध तथा कमलाको संरक्षणको लागि केन्द्रसम्म जाने प्रतिवद्धता समेत जाहेर गरे । उनले भने,“दिलीप महतोले पर्यावरणको लागि ज्यान दिए, त्यसबाट अब युवाहरुले अग्रसर हुनुपर्छ र यस्ता माफिया, क्रसर डन, दलालहरुलाई निरुत्साहित गर्नुपर्छ । अब युवाहरु अगाडी आउनुको कुनै विकल्प छैन।”

सो क्रममा कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले कमला नदीको धार्मिक पहिचान र अस्तित्व सहित कमला नदी बचाउनै पर्ने आवश्यकता बारे प्रकाश पारेका थिए । कमला छेउमा जँगल लगाउनुका साथै वन्यजन्तुलाई समेत पालन पोषण गर्ने अवधारणा ल्याउन लागेको बताएका थिए।

नीरिक्षणको क्रममा कमला बचाउ अभियानका सम्पूर्ण अभियानी, सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष, सँचारकर्मीद्धय विनय कुमार यादव र मुकेश ठाकुर सहित सरोकारबालाहरुको समेत सहभागीता रहेको थियो । उनीहरुले बन्दीपुर ईलाकामा कमला नदीको नीरिक्षण गरेको थियो।